नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् ।
भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे । यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरन्तर लागिरहेको उनले बताए ।
निर्माला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नता रहेको आरोप छ । लामिछानेले जो सुकैको सम्लग्नता भए पनि दोषीलाई कारवाही गरेरै छाड्ने बताए ।
विधवा महिला निर्मला कूर्मीको अपहरण शरीर बन्धक गरी हत्या गरेको अभियोगमा न्याय नमिलेको भन्दै महिला अधिकार मञ्च बाँकेले काठमाडौंको माइतीघरमा तेस्रो चरणको आन्दोलनको गरिरहेको छ ।
२०७८ साल मंसिर ९ गतेदेखि पुष २० गतेसम्म माइतीघरमा अनसनमा बसेपछि सरकारसँग वार्ता भएर उक्त मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने सहमती भएको थियो ।
तर मुख्य आरोपित बादशाह कुर्की मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके क्षेत्र नं. ३ प्रदेशसभा (ख) मा विजयी भएका छन् । बादशाह कुर्मीको उम्मेदवारी खारेजीको माग गर्दै महिला अधिकार मञ्च बाँकेले कात्तिक २९ गते जिल्ला निर्वाचन कार्यालय बाँकेमा उजुरी समेत दिएको थियो ।
नेपालगञ्ज उपमहानगर–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान कसुर मुद्दामा कांग्रेस नेता कुर्मीसहित आठजनाविरुद्ध २० चैत २०७७ मा बाँके प्रहरीमा जाहेरी दर्ता भई जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।