काठमाडौं ।
परराष्ट्रमन्त्री बिमला राई पौडेल आज जेनेभा जाँदैछिन्। परराष्ट्रमन्त्री पौडेल जेनेभामा हुने मानवअधिकार काउन्सिलको कार्यक्रममा सहभागी हुन जेनेभा जान लागेकी हुन्। उनी आज बेलुकी त्यसतर्फ जाँदैछिन्।
परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो भ्रमणबारे जानकारी गराएकी हुन्।
राष्ट्रपतिको निर्वाचनलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेपनि एमाले सरकारबाट बाहिरिएको छैन। पौडेल एमालेबाट सरकारमा सहभागी भएकी हुन्। माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिने अपेक्षा गरिएको थियो। परराष्ट्रमन्त्री पौडेलको जेनेभा भ्रमण पनि के हुने भन्ने थियो। तर मन्त्री पौडेलले आफू मन्त्रिपरिषदको निर्णयअनुसार नै जेनेभा जान लागेको बताइन्। उनले पत्रकार सम्मेलनमा भनिन्’म मन्त्रिपरिषदको निर्णयअनुसार जेनेभा जान लागेकी हुँ। मलाई रोकिने आदेश अहिलेसम्म आएको छैन। ’