सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित भएको छ ।
शुक्रवार लायन्स भवनमा बसेको बैठक कर्मचारीको आचार संहिताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर स्थगित भएको हो ।
नेकपा एमालेका बहुमत नगरसभा सदस्यले अवरुद्ध गरेपछि अनिश्चितकाकालागी स्थगित गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
सभा स्थगित पछि कार्यकक्षमा फेसबुक लाइभ मार्फत प्रमुख पौडेलले एमाले नेतृत्व प्रति असन्तुष्टि जनाएका छन् । जिल्ला स्तरका नेताहरूको जोडबलमा जनप्रतिनिधिले सभा स्थगित गरेको उनले औँल्याएका छन् ।
बेरुजु घटाउने र अपारदर्शी खर्चलाई रोक्ने प्रस्तावमा एमाले नेतृत्वले अनावश्यक दबाब दिएको उनले जानकारी दिएका छन् । कर्मचारीलाई अतिरिक्त सेवासुबिधा बाढ्ने र मासिक ५ हजार खाजा भत्ता कटौती गर्ने कार्यपालिकाको निर्णय नगरसभा बाट अनुमोदन गराउने तयारी रहेको उनले जानकारी दिए ।