तिमीलाई लेख्न खोज्छु
भावहरू हराई दिन्छन्
नियाल्छु जब जब तिमीलाई
अश्रु आफै बगी दिन्छन् ।
नरोऊ भन्छु आँखालाई
किन वर्षात् भई झर्नुपर्यो
हराएका भावहरूमा
किन तिमी आउनुपर्यो ?
बिर्सिन खोज्छु सधैँ तिमीलाई
पल पलमा याद आइरहन्छौ
नाद र नुरको संगमभित्र
किन तिमी उदाइ दिन्छौँ ?
ध्यान र प्रेमको गीत सुनाई
जीवनलाई नृत्य बनायौ
संसार हेर्ने नजरलाई
आफूभित्रै फर्कन सिकायौ ।
छैन प्रवाह अब यो दुनियाँको
आफैँभित्र रमाइ रहेछु,
एकान्त नै अब प्रिय लाग्छ
तिमीलाई हेर्दा पागल हुन्छु ।
भक्तपुर
लेखक : रमा दुलाल