काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर गर्दै छन् । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सहयोगीहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चाबाहेक ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।
कांग्रेस ८, एस र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १–१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन् । यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन् ।