सुर्खेत- कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई आज सत्ता साझेदार दलका तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिएएको हो ।
राजीनामा बुझाउनेमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल रहनु भएको छ ।
केन्द्रमा पुरानो टुटेर नयाँ गठबन्धन बनेसँगै कर्णालीमा पनि एमाले अब प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने निश्चित भएको हो । केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित अब नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारमा सहभागि हुने बताईएको छ ।
एमाले सत्ताबाट बाहिरिएसँगै नयाँ समीकरण अनुसार कर्णालीमा सरकार गठनको बाटो अब खुलेको हो । यसअघि केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।