काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरूको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि सोमबार निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्नासमेत गरे।
गरिब र निमुखा ती मानिसहरूमाथि किन आक्रमण गर्नु परेको भनी सरकारलाई अध्यक्ष लिङदेनले प्रश्नसमेत गरे।
उनले भने, ‘न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरूलाई सरकारले हिजो जुन निर्मम ढंगले आक्रमण गरेको छ। त्यसको म निन्दा र भत्सर्ना गर्न चाहन्छु। यतिबेला ती निमुखा मानिसहरूमाथि आक्रमण भएको छ। गरिबहरूको अथवा सर्वहारावर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौँ भनेर सपना बाँडेकाहरू सरकारमा छन्। तर गरिब र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भइरहेको छ? सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस्। अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु।’
अध्यक्ष लिङदनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।