चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रास्वपा अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ ।
जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार मत कटाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत मंसिरमा ६७.६३ पहिला खसेकोमा यसपटक भने ६२.७७ प्रतिशत मत खसेको थियो । चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो ।
जसमध्ये ७० हजार २३९ मत गनिसक्दा लामिछानेले ५० हजार ७९ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।