काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले २०७२ सालमा गएको भूकम्पबाट क्षति पुगेका राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाहरूको पुनरनिर्माणका मुलभूत कामहरू सम्पन्न भइसकेको बताएका छन्। विनासकारी भूकम्प गएको ८ वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पुनरनिर्माणका मुलभूत कामहरू सम्पन्न भइसहेको र अझै केही कामहरू बाँकी रहेको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले बाँकी रहेका कामहरू सरकारको प्राथमिकतामा रहेको बताए।
प्रधानमन्त्रीले भने,’पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु।’
उनले २०७३ मा गठित आफू नेतृत्वको सरकारका पालामा राष्ट्रिय महत्वका पू्र्वाधारहरू एवं सांस्कृतिक सम्पदाहरूको पुनरनिर्माण, निजी घरहरूको निर्माणमा उल्लेख्य प्रगति भएको दावी गरेका छन्।
त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर १ लाख अनुदान रकम थप गर्नेलगायत जनतालाई राहत दिने महत्वपूर्ण निर्णयहरू गरिएको उनको भनाइ छ।