जापानमा हालै सम्पन्न जी–७ बैठकमा रुसमाथि थप कडा प्रतिबन्धहरू लगाइने घोषणा भएपछि रुसका प्रधानमन्त्री चीन भ्रमणमा गएका छन् । रुसी प्रधानमन्त्री मिखाइल मिसस्टिन बेइजिङ यसै हप्ता पुगेका हुन् ।
रुसले युक्रेनमा आक्रमण थालेयता पहिलोपटक रुसी शीर्ष नेता चीन भ्रमणमा गएका छन् । पश्चिमा प्रतिबन्धका बारेमा मिसस्टिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच छलफल भएको छ भने उनीहरूले चीन र रुसबीच थप व्यापारिक सम्बन्ध बढाउने विषयमा महत्त्वपूर्ण छलफलहरू पनि गरेका छन् ।
पश्चिमा राष्ट्रहरूले यसअघि नै विदेशमा रहेका रुसी सम्पत्ति रोक्का गरिदिएका थिए र उनीहरूले रुसी मुद्रासँग डलरको कारोबार गर्न बन्द गरिदिएका थिए । रुसी तेल र ग्यास अहिले पश्चिमा राष्ट्रमा आपूर्तिसमेत हुँदैन ।
यस्तोमा जी–७ राष्ट्रका नयाँ प्रतिबन्धहरू रुसलाई एक्लो बनाउने प्रयासको अर्को रूप हो । पछिल्ला प्रतिबन्धमा युरोपेली युनियन, अमेरिका, बेलायत र क्यानडाले रुसी सम्पत्तिहरू पूर्ण रूपमा रोक्का गरिदिने सम्झौता गरेका छन् । बेलायतले रुससँग हीराको व्यापार नगर्ने बताएको छ र उसले बेलायती कम्पनीलाई ऋण नदिने जनाएको छ ।
अहिले रुसी तेल र ग्यासको भुक्तानीमा ढिलाइ गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली स्विफ्टबाट प्रमुख रुसी बैंकहरूलाई हटाइएको छ । रुसबाट तेल र ग्यास आपूर्ति नगर्ने पनि पछिल्लो प्रतिबन्धमा जनाइएको छ, यद्यपि ईयु रुसबाट ४० प्रतिशत ग्यास ल्याउन भने बाध्य छ । पछिल्लो प्रतिबन्धले रुसका थप हजारभन्दा बढी धनाढ्य व्यापारीहरूको अमेरिका, युरोप र बेलायतमा भएको सम्पत्ति रोक्का गरिनेछ । पश्चिमा राष्ट्रका बहुराष्ट्रिय कम्पनी मकडोनाल्ड्स, पेप्सिको, एडिडासजस्ता कम्पनीले रुसमा सेवा पनि दिने छैनन् ।
पश्चिमा राष्ट्रले रुसलाई समस्या सिर्जना गर्ने किसिमको प्रतिबन्ध घोषणा गरेपछि रुसी प्रधानमन्त्री चिनियाँ साथ खोज्न बेइजिङ पुगेका हुन् । रोयटर्सका अनुसार चीन र रुसबीच आर्थिक, व्यापार र लगानी सहयोगलाई थप स्तरोन्नति गर्ने र ऊर्जामा सहयोग बढाउने विषयमा नयाँ सम्झौता भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन् ।
रुसी प्रधानमन्त्री मिसस्टिन र सीले लगानी सहयोगलाई गहिरो बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन् भने रुसी कृषि उत्पादनको निर्यात गर्ने सम्झौता र खेलकुद सहयोगसम्बन्धी अर्को सम्झौतामा पनि दुवै नेताले हस्ताक्षर गरेका छन् ।
चीनले अहिले रुस र युक्रेनबीचको युद्ध अन्त्य गराउने पहलकदमी पनि चालिरहेको छ । तर, उसले युक्रेनमा रुसी आक्रमणको निन्दा भने गरेको छैन । रोयटर्स