सिमकोट । जिल्ला समन्वय समिति, हुम्लाले जिल्लाका सातवटै गाउँपालिकालाई नौँ बुँदे सल्लाह सुझाव दिएको छ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणको अन्तिम तयारी गरिरहेका गाउँपालिकालाई समग्र रूपमा देखिने र परिणाममुखी कार्यक्रम तर्जुमाका लागि सुझाव दिइएको हो।
जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माका अनुसार बजेट तथा कार्यक्रम निर्माणको अवस्थामा रहेका सातवटै गाउँपालिकाहरूलाई संविधानले गरेको व्यवस्थाअनुसार संघ र प्रदेश सरकारले तोकेका प्राथमिकताहरू, दिगो विकासका प्राथमिकताका क्षेत्रहरू र आफ्नो गाउँपालिकाको विशेष आवश्यकतालाई ध्यानमा राखी तोकिएको समयमा नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे।
उनले नौँ बुँदे सुझाव दिँदै आर्थिक वर्ष ०८०।०८१ को बजेटमा त्यसलाई समेट्नसमेत आग्रह गरे। यी सुझावहरू सातवटै गाउँपालिकालाई सम्बोधन गरेर प्रमुख शर्माले पत्रचार गरेका छन्।
प्रमुख शर्माले बजेट तथा कार्यक्रममा समेट्न दिएका सुझावहरूमा योजना तर्जुमाका सात चरण पूरा गरी स्थानीय समुदायको व्यापक सहभागितामा कार्यक्रम तय गर्नुपर्ने, कार्यक्रममा आन्तरिक स्रोत र स्थानीय साधन-स्रोत अधिकतम उपयोग हुने कार्यक्रम तर्जुमा गर्नुपर्ने, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा भौतिक पूर्वाधारका साथै गरिबी न्यूनीकरण र सामाजिक रूपान्तरणलाई ध्यान दिनुपर्ने, स्थानीय रैथाने बाली उत्पादनको बृद्धि गरि त्यसको प्रशोधन र बजारीकरण हुने कार्यक्रम समावेश गर्नुपर्ने, बेरोजगारी समस्या समधान हुने लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीलाई प्राथमिकता दिनु पर्ने रहेका छन्।
त्यसैगरी, अन्य सुझावहरूमा सामाजिक सुरक्षाका कार्यक्रमहरू सहज र सरल तरिकाले लक्षित वर्गले पाउने र पुर्याउने व्यवस्था गर्नुपर्ने, विकासका कार्यक्रम सञ्चालन गर्दा जलवायु तथा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, विकासका हरेक चरणमा पारदर्शिता, सुशासन कायम गरी लैंगिक तथा सामाजिक समावेशितालाई ध्यान दिनुपर्ने, जनतालाई स्थानीय सरकारप्रति भरोसा हुने कार्यक्रम समेट्नुपर्ने रहेका छन्।
प्रमुख शर्माले समन्वय समितिका तर्फबाट लिखित रूपमा दिएका सुझावहरूलाई गाउँपालिकाका अध्यक्षहरूले सकारात्मक रूपमा लिएको र त्यसलाई आगामी नीति तथा कार्यक्रमका लागि मार्गदर्शनका रूपमा लिने प्रतिबद्धतासमेत जनाएको बताए।
 
 
             


 
                                         
                                                 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    