झापाको कुञ्जिबारीस्थित पूजा फार्मेसीमा सामान्य ज्वरो आएको बिरामीलाई गलत औषधि प्रयोग गरेको कारण बिरामीको मृत्यु भएको भन्दै फार्मेसी सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्न पीडितले प्रशासनसँग माग गरेका छन् ।
गौरिगञ्ज गाउँपालिका वडा नम्बर- १ निवासी १२ वर्षीया ज्योतिकुमारी महतोलाई १३ गते दिउँसोदेखि ज्वरो आएको थियो । आमा बुच्नी महतोले कुञ्जीवारिको पूजा फार्मेसीमा उपचारका लागि अपराह्न ४ बजे लगेको बालिकाको बुवा राम विलास महतोले बताए ।
क्लिनिक सञ्चालक कार्तिकलाल राजवंशीकी श्रीमती कसुम राजवंशीले ज्वरो आएको बिरामीलाई डेक्सिन नामको इन्जेक्सन दिएकी थिइन् । गौरिगञ्ज गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहेका राजवंशी पसलमा नभएका बेला श्रीमतीले औषधि बेच्ने, बिरामीलाई इन्जेक्सन लगाइदिने र सामान्य चिरफार समेत गर्ने गरेको स्थानीयले बताए ।
ज्योतिलाई ज्वरोसँगै स्वास्प्रस्वासको पनि समस्या रहेको बताइएको छ । राजवंशीकी श्रीमती कुसुमले इन्जेक्सन लगाएपछि अब निको हुन्छ भन्दै घर पठाएको आमा बुच्नीले बताइन् ।
‘छोरीलाई पहिला श्वास— प्रश्वासको समस्या थियो । कु्न्जिबारीको पूजा फार्मेसीमा ‘बाफ’ लगाएपछि निको हुन्थ्यो,’ आमा बुच्नीले भनिन्,‘ अस्ति पनि ‘बाफ’ लगाउनका लागि लगेकी थिए उनले सुई लगाइदिनु भयो ।’
‘कुसुमले बाफ बिग्रिएको छ । आज इन्जिेक्सन लगाइदिन्छु । निको हुन्छ भन्नुभयो । मैले पनि होला भनेर उहाँको कुरा सहजै स्विकारे । तर, इन्जिेक्सन लगाएर घर पु¥र्याएको आधा घण्टामा नानीलाई बान्ता भयो र केही समयपछि छोरीको मृत्यु भयो,’ आमा बुच्नीले भनिन् ।
फार्मेसीबाट घर पु¥याएको १ घण्टामा छोरी ज्योतिको मृत्यु भएको बुवा राम विलास महतोले बताए । उनका अनुसार ज्योतिलाई दिउसो २ बजेदेखि ज्वरो आएको थियो । ज्योति स्थानीय बालकल्यायण माविमा कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।
सामान्य ज्वरो आएको बिरामीलाई गलत औषधिको प्रयोगले बिरामीको मृत्यु भएको आफन्तजनको आरोप छ । फार्मेसी सञ्चालक वडा अध्यक्ष र उनकी श्रीमती राजवंशीलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, राजवंशी दम्पतीको योग्यता र क्षमताका कागजी प्रमाण जाँच गर्नुपर्ने लगायतका माग आफन्तले गरेका छन् ।
वालिकाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आज बिहान आफन्तले दाहसंस्कार गरेका छन् ।
स्थानीयले फार्मेसी सञ्चालकलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाएका छन् । घटनाको तीन दिनसम्म पक्राउ गरेर कारबाहीका लागि प्रक्रिया अगाडि नबढाएकोमा प्रहरी प्रशासनसँग आफन्त र स्थानीयले आपत्ति जनाएका छन् । तर, झापा प्रहरीले घटनाको बारेमा सामान्य जानकारी भएको प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए ।
पोस्टमार्टम रिपोर्ट नआउन्जेल प्रहरीले घटनाका बारेमा यसै भन्न नसक्ने उनले बताए । फार्मेसी सञ्चालकले प्रयोग गरेको औषधि परीक्षणका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । फार्मेसी र सञ्चालकको कागजात पनि प्रहरीले अनुसन्धानका लागि मागेको छ । घटनाका बारेमा दुवै पक्षलाई शुक्रबार इलाका प्रहरी कार्यालय झिलझिलेमा बोलाइएको प्रहरी श्रोतले बताएको छ ।
यता गौरिगञ्ज गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष समेत रहेका क्लिनिक सञ्चालक कार्तिक लाल राजवंशीले बिरामीलाई सही औषधि दिएको प्रतिक्रिया दिएका छन् । उनले फार्मेसी र सञ्चालकको कागजी प्रमाणमा शङ्का गर्नुपर्ने कारण नभएको पनि बताए । उनले भने, ‘ राजनीतिमा आग्रह पूर्वाग्रह राख्ने व्यक्तिले के निहुँ पाउँ भनेर खोजिरहेका थिए । अहिले यो घटनालाई जोडेर अतिरञ्जित गरिदैछ ।’ कार्तिकलाल अनमी भएको स्थानीयले बताए ।