काठमाडौँ । नयाँबानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय आजबाट टेकुमा सरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँ टेकुस्थित कार्यालयबाट २६ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो ।
एसएसपी सानुराम भट्टराईले पूजापाठ गरी टेकुबाट कामकाज सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।
लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि सँगै निर्माण थालिए पनि काठमाडौँ प्रहरीको भवन बनिसक्दा पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अझै धेरै बाँकी छ ।