राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन १० महिना पछि सरेको छ । यही महिना हुनुपर्ने महाधिवेशन १० महिना धकेलिएर फागुनमा पुगेको हो ।
आज बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ ।
२०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको उनले बताए । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भएको झाले जानकारी दिएका छन् । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भएको तथा सातवटै प्रदेशमा समिति बनेको उनले बताए ।