प्रविधिको विकाससँगै कम्प्युटर, टेलिभिजन, ल्यापटप, मोबाइललगायतका विद्युतीय उपकरणको प्रयोग बढ्दो क्रममा छ। विज्ञान तथा प्रविधि मन्त्रालयको एक तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा २ लाख ५० हजारभन्दा बढी टेलिभिजन सेट र तीन लाखभन्दा बढी कम्प्युटर भित्रिन्छन्।
मोबाइलको प्रयोग अझै बढी छ। यस्ता उपकरणको आयु निश्चित अवधिको हुन्छ, र ती फोहोरमा परिणत हुन्छ। त्यस्ता फोहोरलाई नै विद्युतीय फोहोर भन्छिन्। अन्य फोहोरभन्दा यी फोहोर व्यवस्थापनको पाटो जटिल छ। तर, यसको व्यवस्थापनमा सरकारी चासो देखिँदैन। अध्ययनले भन्छ, ‘उचित व्यवस्थापन नभए विद्युतीय फोहोर (ई–वेस्ट) ले विकराल अवस्था ल्याउन सक्छ।’
वातावरण विभागको पछिल्लो अध्ययनअनुसार सन् २०१७ मा काठमाडौं उपत्यकामा मात्रै १७ हजार ७ सय ३० टन विद्युतीय फोहोर उत्पादन भएको थियो। उक्त अध्यनयपछि विभागबाट कुनै पनि अध्ययन भएको छैन। यस क्षेत्रमा खासै काम पनि नभएको विभागकै अधिकारी बताउँछन्। वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेल वातावरण संरक्षण ऐन २०५३ मा ‘लिड’ व्यवस्थापनको कुरा आए पनि पर्याप्त नभएको बताउँछन्। ‘ऐनमा जोखिमयुक्त फोहोरको कुरा थोरै मात्रामा छोएको छ। हाल सबै जोखिमयुक्त फोहोरहरूलाई एकै ठाउँमा राखिएको छ’ पौडेलले भने ‘यसै आर्थिक वर्षमा जोखिमयुक्त फोहोरको लिस्टिङ गर्ने र वर्गीकरण गर्ने काम विभागबाट भएको छ।’
तर, यस्ता विषयमा काम गर्नलाई पर्याप्त जनशक्ति नभएको र विदेशबाट पनि जनशक्ति ल्याउनुपर्ने अवस्था आउन सक्ने पौडेलले बताए। विद्युतीय फोहोर व्यवस्थापन विभागको कार्य क्षेत्रमा परे पनि मन्त्रालयहरूले पनि यसमा कार्यक्रमहरू ल्याउनु पौडेलको तर्क छ।
सन् २०२० मा ज्योति गिरी र रामेश्वर अधिकारीले गरेको एक अध्ययनमा विद्युतीय फोहोरले माटोलाई प्रत्यक्ष असर गर्ने, जमिनमुनि तथा सतहमा भएका पानी प्रदूषित बन्ने, वायु प्रदूषण गर्ने र वरिपरिका वातावरण बिगार्नेलगायतका समस्या निम्त्याउने उल्लेख छ। यस्ता वस्तुहरूलाई बाल्दा जोखिमयुक्त पदार्थ निस्कन्छ। लिड, क्याडमियम, बेरियम र फ्लोरोसेन्ट पाउडरजस्ता विषाक्त पदार्थ त्यसले उत्पादन गर्छ। त्यसले मानिसको मस्तिष्क, फोक्सो, कलेजो र नसालगायतका अंगमा असर गर्छ। बान्ता हुने, थकान महसुस हुने, टाउको दुख्ने, भोक हराउने, पेट दुख्ने र छालाको समस्या पनि हुन्छ। यस्ता समस्या बढ्दै क्यान्सरसम्म पुग्ने अध्ययनले देखाएको छ।
वातावरण संरक्षण ऐन २०५३ मा ‘लिड’ व्यवस्थापनको कुरा आए पनि त्यो पर्याप्त छैन। ऐनले जोखिमयुक्त फोहोरको कुरा थोरै मात्र छोएको छ। सबै जोखियुक्त फोहोरहरूलाई एकै ठाउँमा राखिएको छ।
शंकरप्रसाद पौडेल–प्रवक्ता, वातावरण विभाग
उक्त अध्ययनमा विज्ञान तथा प्रविधि मन्त्रालयको रिपोर्ट पनि समेटिएको छ। जसमा नेपालमा टेलिभिजनका आयात सन् १९९९ देखि २०११ सम्म ५८.१२ प्रतिशतले वृद्धि भएको देखाएको छ। यस्ता सामानहरू दशकपछि विद्युतीय फोहोरको रूपमा समस्या बन्ने पनि अनुसन्धानले सुझाएको छ। विद्युतीय सामग्री सञ्चालन गर्दा ४० हजार टन लिड एसिड ब्याट्रीको प्रयोग हुन्छ। त्यसबाट निस्किएका फोहोरले विनाशकारी विपत्ति निम्त्याउन सक्ने अध्ययनले देखाएको छ।
व्यवस्थापनका लागि के भइरहेको छ ?
नेपालमा पहिलो पटक विद्युतीय फोहोर व्यवस्थापनका लागि काम गर्न स्थापना भएको डोको रिसाइक्लरले चार वर्षपहिला काम गर्दै आएको छ। यसले सन् २०१८ मा मात्रै १६ लाख ३७ हजार २० केजी विद्युतीय फोहोर रिसाइकल गरेको समेत बताएको छ।
डोको रिसाइक्लरका अपरेसन हेड, सन्तोष महतोका अनुसार धेरैजसो यस्ता फोहोरलाई रिसाइकल गर्न सकिन्छ। यस्ता फोहोरलाई छुट्ट्याएर पुनः प्रयोग गर्दा नाटकीय रूपमा कार्बन फुट प्रिन्ट घट्ने, पुनः प्रयोग गर्न सकिने र वातावरणमा कुनै खालका खतरा तथा जोखिम नहुने उनले बताए। तर, मानिसहरूले यस्ता फोहोर ल्यान्डफिल साइटमा फाल्ने या त खुल्ला रूपमा जलाउने गर्छन्। त्यसले वातावरण र स्वास्थ्यमा गम्भीर असर गरिरहेको उनले बताए। ‘जसले उत्पादन गर्छ। आफैं जिम्मेवारी हुने चलन विदेशमा छ। तर, नेपालमा प्रयोगविहीन भएपछि त्यस्ता सामान कवाडीलाई दिइन्छ।
उनीहरूले पनि काम नलाग्ने सामानहरू कसैले नदेख्ने भएपछि जंगलमा लगेर फालिदिँदा समस्या आएको छ,’ उनले भने। विद्युतीय फोहोर जलाए कार्बनमोनोअक्साइड ग्यास निस्किन्छ। विद्युतीय ब्याट्री पनि त्यस्तै खराब हुन्छ। महतोले भने ‘एसिड फालिएको ठाउँमा कम्तीमा पाँच, दस वर्षसम्म एउटै बिरुवा पनि उम्रिँदैन। व्यवस्थापन गर्दा त्यसबाट निस्किने जोखिमयुक्त एसिड निकालेर फाल्नुपर्छ। त्यसको पनि एउटा प्रक्रिया छ। त्यसलाई पालना गर्नुपर्छ।’
वातावरणमैत्री व्यवस्थापन गरौं भन्ने हेतुले संस्था खोलिएको भए पनि काम गर्न निकै चुनौती भएको महतोले बताए। घातक फोहोरहरूलाई कसरी व्यवस्थापन गर्ने ? कस्ता फोहोरलाई के गर्ने भन्ने विषयमा काम गर्दै सचेतनासमेत फैलाइरहेको महतोले बताए। उनले भने ‘सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने हुन्छ। एप्रोन, मुखमा मास्क, हातमा अर्कै खालको पञ्जालगायतका सामानहरू चाहिन्छन्।’
विश्वव्यापी रूपमा विद्युतीय फोहोरको समस्या तीब्र रूपमा बढिरहेको छ। प्रत्येक वर्ष ५० मिलियन टन विद्युतीय फोहोर उत्पादन हुन्छ। यसको मात्रा प्रत्येक सेकेन्ड एक हजार वटा ल्यापटप फालेबराबर हुन आउँछ। कुनै ठाउँमा विद्युतीय फोहोर पाँच सय प्रतिशतले बढेको तथ्यहरू पाइन्छन्। युरोपमा सबै भन्दा धेरै विद्युतीय फोहोर उत्पादन हुन्छ। त्यसपछि अमेरिका र एसिया आउँछ। युरोपमा प्रतिव्यक्ति १६ किलो विद्युतीय फोहोर उत्पादन गर्नुका साथै अफ्रिकामा सबैभन्दा थोरै १.७ किलो प्रतिव्यक्ति विद्युतीय फोहोर उत्पादन हुन्छ।