उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर मेयर साम्पाङले गृहमन्त्री लामिछानेलाई भेटेका हुन्।
भेटमा मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका निम्ति पर्याप्त साधन-स्रोतको माग गरेका थिए।
गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री लामिछानेलाई प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न मेयर साम्पाङले सुझाव समेत दिए। त्यस्तै, भेटका क्रममा साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको गुनासो पोखेका थिए।