जनकपुरधाम । जनकपुरमा बैंकबाट सहकारीका लागि लगिँदै गरेको रकम बाटोमै लुटिएको छ । हतियारधारीले सहकारी संस्थाका कर्मचारीले बोकेको ८० लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको हो । महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।
महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । सहकारीका बचतकर्तालाई दिन सो रकम लगिएको र यस घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।