नारायणीमा नदिमा हजुरआमाको चप्पल छुटेर लिन गएका दिदीभाइ नदीमा डुबेका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा रहेको ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेका उनिहरुको शव बुधबार सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ । गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय छोरा स्वप्निल सेर्पुञ्जा मंगलबार नदी डुबका थिए।
हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका थिए। भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि डुबेकी थिइन् ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बुढाथोकीको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।
सो टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट आज बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो साढे १२ बजे निकाल्न सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।