शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । एता शिक्षक आन्दोलनले उग्ररुप लिइरहेको बेला आज सोमबार अचानक मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो ।
यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकि थिइन्।
प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न र सरकारको लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषय बोलेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्।
उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएकी हुन् । मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट समेत गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहेको बताएकी थिइन् ।
उता उनका सचवालयले भने स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको जनाएको छ।
‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ ‘उहाँले प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा दिनुभएको हो।’ उनका स्वकीय सचिव अशेष पोखरेलले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्।
२० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला भट्टराईको राजीनामा आएको हो । शिक्षा मन्त्रालयले शिक्षकहरूलाई पटक–पटक वार्ताका लागि बोलाएको थियो । तर शिक्षकहरूले भने अटेर गर्दै आएका थिए । तर अचानक शिक्षामन्त्रिले राजीनामा दिएपछी शिक्षकको आन्दोलनमा फेरी तरङ्ग पैदा भएको छ ।