पुस २३ । सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । सत्ता साझेदार दलहरुले हिजो सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ ।
साझा कार्यक्रममा लेखिएको छ,‘ुनेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।