राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना १२औं उपसभामुखमा निर्वाचित भएकी छन्। उनको जन्म २०२७ सालमा झापा शनिश्चरेमा भएको हो।
रानाले समाजसेवाबापत सन् २००५ मा अशोक फेलो जितेकी थिइन्। उनले काठमाडौं नयाँबजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापा खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी छन्। बालबालिकाका लागि उनले जूनकीरी नामका दुई प्राथमिक स्कुल पनि चलाएकी छन्।
समाजसेवी राना र सयौं बालबालिकाकी आमा मानिन्छिन्। उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छन्। उनीहरूको स्याहार र शिक्षामा सहयोग गरेकोले उनको नाम देश, विदेशमा चर्चित छ। राजनीतिक क्षेत्रमा रानाको नाम नयाँ भए पनि उनी सामाजिक क्षेत्रमा चर्चित छिन्। उनी गत निर्वाचनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी हुन्।