काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास भरिएको सिलिन्डरलाई घामपानी, धुलो र उच्च ताप आउने स्थानमा राख्न नहुने नेपाल ग्यासले जनाएको छ ।
यस्तै, सिलिन्डरमाथि कुनै पनि किसिमको भाँडा, कपडालगायत सामग्री राख्न हुँदैन ।
सिलिन्डरमा सधैँ एनएस-बीआईएस चिह्न भएको गुणस्तरीय रबर ट्युबको प्रयोग गर्नुपर्छ । हरेक दुई वर्षमा त्यो रबर ट्युब फेर्नुपर्ने नेपाल ग्यासले जनाएको छ । नेपाल ग्यासका अनुसार एलपी ग्यास हावाभन्दा भारी हुन्छ । त्यसैले चुहावट भएको खण्डमा ग्यास भुईंमा जम्मा हुने गर्छ।