November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रातिदेखी लागू भएको पेट्रोलियम मूल्य

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १४:४९
रातिदेखी लागू भएको पेट्रोलियम मूल्य
  • पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू
  • आइतबार राति १२ बजेबाट लागू

काठमाडौं ।।

नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको हो ।आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको मूल्य नियमन गर्ने निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले बताए ।

कार्यान्वयनमा आएको स्वचालित मूल्य प्रणालीअनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकेको जनाएको छ । जसअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४-४ रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा ६ रूपैयाँले घटेको छ । यस्तै, खाना पकाउने ग्याँसमा नाफा नराख्ने नीतिअनुसार निगमले हाल नाफा रहेको प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य पनि घटाएको छ ।

कति घट्यो मूल्य

निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मरासिनीका अनुसार स्वचालित मूल्य प्रणाली लागू भएपछि देशभर इन्धनको मूल्य घटेको छ । परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्ने र घट्दा घट्ने प्रणालीअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यपछि निगमले मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रूपैयाँ पर्नेछ । तराईका जिल्लाहरूमा १६१ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रूपैयाँ पर्नेछ । डिजेल र मट्टीतेल उपत्यकामा लिटरको १४६ रूपैयाँ, तराईका जिल्लाहरूमा १४३ रूपैयाँ ५० पैसा र भित्री मधेशमा १४५ रूपैयाँ पर्नेछ ।

एलपी ग्याँस (खाना पकाउने ग्याँस) को प्रतिसिलिण्डर मूल्य १८०० रूपैयाँबाट घटेर १७९० रूपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३.२७ रूपैयाँ सस्तो पर्ने छ । मटीतेल र डिजेलमा प्रतिलिटर ९.९४ पैसा सस्तो पर्ने छ । हवाई इन्धनअन्तर्गत आन्तरिकतर्फ नेपालमा भारतको तुलनामा २३.८१ रूपैयाँ सस्तो पर्ने छ भने बाह्य इन्धनमा भने केही महँगो पर्ने निगमले जनाएको छ ।

९ वर्षपछि पुनः स्वचालित मूल्य प्रणाली

अन्तर्राष्ट्रिय बजार मूल्यका कारण निगमलाई पर्नसक्ने क्षति रोक्न भन्दै २०७१ सालमा तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाले ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेका थिए ।

‘स्वचालित मूल्य प्रणाली कार्यविधि २०७१’ लागू गरेर पहिलो पटक १३ असोज २०७१ मा इन्धनको मूल्य समायोजन भएको थियो । यस्तो प्रणाली अवलम्वन गर्दा आम उपभोक्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक सन्तुलन सुदृढ भई विवादरहित किसिमले पेट्रोलियम पदार्थको कारोबार हुने अपेक्षा गरिएको थियो ।

तर, त्यो स्वचालित मूल्य प्रणाली लागू भएको तीन महिनामै आयल निगम स्वयंले उल्लंघन गरेको थियो । स्वचालित मूल्य प्रणाली लागू भएको तीन महिनाभित्र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४७ प्रतिशतले घटेको थियो । इन्डियन आयल कर्पोरेसनले पनि त्यहीअनुसार मूल्य घटाएर पठाएको थियो ।

तर, भारतबाट मूल्य घटेर आएअनुरूप नेपाल आयल निगमले तेलको उपभोक्ता मूल्य घटाएन । बरु उच्च नाफा कमायो भने मूल्य स्थिरीकरण कोषमा रकम हालेको भनी त्यो पैसा पनि आफैंले राख्यो ।

त्यसपछि पनि निगमले राजनीतिक दल र सरकार नेतृत्वको चाहनामा यो प्रणालीलाई बेवास्ता गरिरह्यो । निगमका साहायक प्रवक्ता पुष्कर कार्की रुस- युक्रेन युद्धपछि सो प्रणाली निस्क्रिय भएको दाबी गर्छन् । २०७१ देखि हालसम्मका निगमका सबैजसो कार्यकारीले यही प्रणाली अबलम्बन नगर्दा निगम धरासायी अवस्थामा पुग्यो । २०७८ मा निगमको नेतृत्वमा आएका हालका कार्यकारी निर्देशक उमेश थानी पनि यसबाट चोखो रहेनन् ।

तर, यस पटक भने उनले आफ्नो कमजोरी सुधार गरेर निगमको हितमा काम गरेको दाबी गरेका छन् । ‘निगमका लागि यो कोशेढुंगा हो,’ उनले भने, ‘यसले उपभोक्ता र निगम तथा सरकार सबैको हित गर्छ ।’ इमान्दार भएर निगमले यस प्रणालीको कार्यान्वयन गर्ने दाबी पनि उनले गरे । अब आईओसीबाट नयाँ मूल्य प्राप्त हुने बित्तिकै निगमले नाफा र घाटाको फर्मुलाअनुसार उपभोक्ता मूल्य समायोजनको निर्णय गर्ने उनले बताए ।

कार्यान्वयन चुनौतीपूर्ण

नेपाल आयल निगमले कार्यान्वयन गरेको स्वचालित प्रणाली राम्रो भए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको जानकारहरू बताउँछन् ।

अर्थशास्त्री शिवराज अधिकारी निगमको प्रणाली ठीक भएको तर नाफाको प्रतिशत कारोबार आकारका आधारमा धेरै भएको बताउँछन् । निगमको जमानी सरकार बस्ने भएका कारण स्वचालित मूल्यमा पुनः सरकारको छाया पर्न सक्ने उनको आँकलन छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना पनि स्वचालित मूल्य प्रणाली ठीक भएको बताउँछन् । यो प्रणालीलाई अब निगमले नियमित कार्यान्वयन गर्नुपर्ने उनले बताए । ‘राजनीतिक दल, सरकार र मन्त्रालयको स्वार्थका आधारमा नभई निगमले नयाँ स्वचालित प्रणालीकै आधारमा मूल्य निर्धारण गर्नुपर्छ,’ उनले भने ।

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्