काठमाडौं ।।
धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको छ । गजुरी गाउँपालिका-२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
मापसे सेवन गरी उनको पसलमा पुगेका व्यक्तिले विवाद गरेका थिए । प्रहरीका अनुसार सोही क्रममा उनले आफ्नै पसलमा रहेको एसिड निकालेर छ्यापेका थिए । एसिड प्रहारबाट धादिङकै बेनीघाट रोराङ गाउँपालिका-३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका छन् । एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ-३ कै स्थानीयवासी हुन् ।
घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दिपेशको शरीरका विभिन्न भाग तथा डम्बरको अनुहार र शरीरमा एसिड प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।