काठमाडौं ।।
बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धवलशमशेर जबराले दुई समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम राख्ने गरी कदम चाल्न सरकारसँग अनुरोध गरेका छन् । “बाँकेको नेपालगञ्ज सहरमा दुई समुदायमा झडप भएर कर्फ्यु लागेको छ । सरकारलाई अनुरोध छ, हिंसाको घटनाहरु कन्ट्रोल ल्याउनुपर्यो ” उनले भने, “यो सबैको जड मोबाइलको जड हो । साइबर क्राइमलाई तुरुन्तै एक्सनमा ल्याएर ठाउँको ठाउँमा दोषीहरुलाई कारबाही गर्नुपर्छ ।” उनले सद्भावको सहर नेपालगञ्जमा धार्मिक सद्भाव कायम राख्न स्थानीयलाई पनि अनुरोध गरे ।