काठमाडौं ।।
ललितपुरस्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।आफ्नो रकम हिनामिना भएको भए व्यहोरा उल्लेख गरी उजुरी दिन सीआईबीले बचतकर्तामा अनुरोध गरेको हो ।
संस्थाका अध्यक्षसहित पदाधिकारीले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ ।सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितबाट साढे चार करोड रुपैयाँ ठगी भएको भनेर उजुरी प्राप्त भएको बताए । बाँकी कोही पीडित छन् भने सम्पर्कमा आउनका लागि सूचित गरिएको उनले जानकारी दिए ।