काठमाडौं ।।
सुदूरपश्चिम प्रदेशका केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।नेपाली समयानुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा भारतको वतन भन्ने स्थान केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको सो कार्यालयका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार नेपालको दार्चुलास्थित सिमानाबाट १५/१७ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु थियो । “दार्जुलापारि भारतको वतन केन्द्रविन्दु भएर ९.२६ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो,” उनले भने, “त्यो स्थान दार्चुलाको सिमानाबाट १५/१७ किलोमिटर पर पर्छ ।” यो धक्का यही असोज १६ गते बझाङ केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प नभएको उनले स्पष्ट पारे । उनका अनुसार बझाङको उक्त भूकम्पपछि हालसम्म ५४३ परकम्प मापन गरिएको छ ।