May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका उपाध्यक्षसहित पाँच पक्राउ

  • साझा परिवेश
  • सोमवार, कार्तिक १३, २०८० १७:३0
बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका उपाध्यक्षसहित पाँच पक्राउ

खोटाङ । बचतकर्ताको रकम घोटला गरेको भन्दै खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाका ४ हजार ५०० भन्दा धेरै बचतकर्ताको रकम घोटला प्रकरणमा सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीसहित तीन जना यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीले सो प्रकरणमा उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो ।

सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । नियन्त्रणमा लिइएका सञ्चालक समितिका पदाधिकारीलाई आइतबार नै जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले गत वर्षको फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले अध्यक्ष जोशीका भाइ सुनिल जोशी र श्रीमती रविना श्रेष्ठलाई गत असोज १३ गते तथा प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरेको थियो ।

महिना दिनअघि काठमाडौँबाट पक्राउ परेका तीनैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । पक्राउ परेका सुनिल श्री एयरलायन्सका क्याप्टेनसमेत हुन् ।

उनीहरुको परिवारले सहकारीबाट १ करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको छ । यस्तै सहकारीको नाममा खरिद गरिएको भनिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको छ ।

२०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय तत्कालीन अध्यक्ष जोशीको निधनपछि खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो ।

जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीमा एकैजनाले ४५ लाख रुपैयाँसम्म बचत गरेका थिए । सहकारीमा ७४ जना ऋणी रहेका छन् । ऋणीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको जग्गाबाहेक साँवाब्याजसहित करिब १० करोड ऋण लगानी रहेको जनाइएको छ । बचतकर्तालाई साँवाब्याजसहित करिब ७ करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा देखिएको छ ।

बचतकर्ताले आफूहरुको बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै गत असोज १९ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्ना दिएका थिए । जिल्लामा १८१ सहकारी संस्था सञ्चालनमा छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक १३, २०८० १७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट