काठमाडौं ।।
खोटाङ र तेह्रथुमको छुट्टाछुट्टै स्थानमा रुख काट्ने क्रममा किचेर दुईजनाको मृत्यु भएको छ । शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का ५४ वर्षीय धनबहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किचेको थियो ।
रुखले किच्दा घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यसैगरी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ का ६३ वर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।