विराटनगर ।।
नेकपा (एमाले) को संकल्पयात्राका क्रममा भोजपुर पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका छन् । बिहीबार सदरमुकाम भोजपुर बजारबाट धनकुुटा जाने क्रममा कालो झन्डा देखाइएको हो । एमाले पार्टी कार्यालयनजिकै विरोध प्रदर्शन गर्दै पहिचानवादीले कालो झन्डा देखाएपछि धरपकड समेत भएको जनता समाजवादी पार्टी (जसपा) का सदस्य एवं लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।
कालो झन्डा देखाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई, जिल्ला सदस्य धीरज राई, दिनेश राई, मणि राई, विद्यार्थी नेता धीरेन खिम्बू, तयाबङु राई र विकास राई छन् ।हालसम्म कोसी प्रदेशका विभिन्न स्थानमा गरी ३० पहिचानवादी पक्राउ परेको माखिमको भनाइ छ ।धनकुटामा बन्द गराउँदै हिँड्ने नौजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा किराँत राई यायोख्खाका धनकुटाका अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिंह तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ छन् । ती सबै पहिचानवादीलाई धनकुटा र भोजपुरको सीमावर्ती लेगुवा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता एवं डीएसपी राजबाबु महर्जनले बताए ।
यसैबीच, झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रा धनकुटामा प्रवेश गरेको छ । यात्रा सुरु भएको १५औँ दिन पूर्वको अरुण तरेर धनकुटामा प्रवेश गरेको हो । अध्यक्ष ओली धनकुटाको कार्यक्रम सकाएर तेह्रथुमको वसन्तपुरमा आयोजित सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् । यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट यात्रा सुरु गरिएको थियो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।