सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ ।नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।