युवराज रेग्मी
असार १६, झापा/
झापाको गौरादहमा नेपाल प्रहरीले एकदिने बिपद प्रतिकार्य प्रदर्शनी गरेको छ । नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज आइतबार ग्यास सिलिन्डर चुहावट र यसको सुरक्षा उपायहरूबारे जनचेतना फैलाउने उदेश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो ।
ईलाका प्रहरी कार्यालय गौरादहको आयोजना एबम गौरादह नगरपालिकाको सहयोगमा गौरादह नगरपालिकाको गौरादह बजार वडा न १ स्थित दुर्गा मन्दिर परिसरमा उक्त नमुना प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको हो ।
कोशी प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी झापाको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा घर-घरमा ग्यास सिलिन्डरको सुरक्षित प्रयोगमा बारेमा सम्भाबित जोखिम र जोखिम नियन्त्रण सम्बन्धी प्रतिकार्यका बारे विभिन्न बिधिहरु नमुना प्रदर्शनी गर्दै समुदायमा जनचेतना अभिवृद्धि साथै जोखिम नियन्त्रणका उपायबारे प्रयोगात्मक जानकारी गराइएको थियो ।
कार्यक्रममा उपस्थित केही प्रतिनिधि सर्बसाधारण हरुले ग्यास सिलिन्डर प्रयोगको बारेमा जानकारी लिदै ग्यास सिलिन्डर प्रयोग गर्दा हुनसक्ने सम्भाबित जोखिम र जोखिम नियन्त्रणका उपायबारे आफै प्रयोगात्मक अभ्यास गरेकाथिए ।
ईलाका प्रहरी कार्यालय गौरादहका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोद रेग्मीले ग्यास सिलिन्डरको सही प्रयोगबारे आम नागरिकमा चेतना आवश्यक रहेको बताउदै उनले सानातिना लापरबाहीले ठूलाठुला दुर्घटनाहरू निम्त्याउन सक्ने बताए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानिय जनप्रतिनिधिहरू र सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सहभागीहरूले कार्यक्रमको अत्यन्त सराहना गर्दै यस्ता किसिमका जनचेतनामूलक कार्यक्रमहरू जनमानसमा उपयोगी र अत्यावश्यक रहेको भन्दै आगामिदिनमा पनि त्यस्ता किसिमका कार्यक्रमहरुको निरन्तरताको माग गरेका थिए ।