काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको दाबी गरेका हुन् ।
विज्ञप्तिमा यस प्रकरणमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ आफूहरूसँग सुरक्षित रहेको पनि झाले उल्लेख गरेका छन् । रास्वपाले आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख रानामगर निष्कलंक रहेको पनि दाबी गरेको छ ।
रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा मुछिएकी छन् । यस प्रकरणमा उनी विरुद्ध संसदको राज्य व्यवस्था समितिमा उजुरी समेत परिसकेको छ ।
संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने सो पार्टीले दाबी गरेको छ ।