नेपालमा अब उद्योग सञ्चालन अनुमति नलिई व्यावसायिक रूपमा पानीजहाज सञ्चालन गर्न नपाइने प्रस्ताव गरिएको छ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा यस्तो व्यवस्था राखिएको हो।
समितिका उपसचिव नुमराज खनाल शर्माका अनुसार, इच्छुक व्यक्ति वा संस्थाले नेपाल पानीजहाज कार्यालयमा निवेदन दिएर स्वीकृति लिनुपर्नेछ। आर्थिक, प्राविधिक र व्यवस्थापकीय क्षमता मूल्यांकन गरी सार्वजनिक हितको मापदण्ड पुरा भएमा मात्र अनुमति दिइनेछ।
नेपाल पानीजहाज कार्यालयका कायममुकायम रजिस्ट्रार मणिराम भुसालले देशले आफ्नै पानीजहाज खरिद गरी विदेशी समुद्रमा सञ्चालन गर्न कानुनी आधार आवश्यक भएको बताएका छन्। भारतलगायत मुलुकका समुद्री क्षेत्रमा नेपाली पानीजहाज चलाउने उद्देश्यले सरकारले विधेयक तर्जुमा गरिरहेको छ।