नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाटै पक्राउ परेका थिए । तर उक्त पत्र फेक भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिदै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । उता फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।
टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र त्रुटिपूर्ण भएको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।
विष्टले टीकापुर हत्याकाण्डका दोषी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले पक्राउ गर्नुअघि उनीसँग सर्वोच्च प्रशासनले सोधपुछ गरेको थियो । विष्टको भनाइबारे सर्वोच्चका एक अधिकारीले भने, ‘टीकापुरमा मरेकाहरू सम्झिएर माया लाग्यो, टीकापुरमा मारिएकाहरू सम्झिएर पत्र नलेखी मेरो मनले मानेन ।’
विष्ट आफैँले जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर बुझाएको पत्र कानुनी हिसाबले स्थापित हुने तथ्य नदेखेपछि सोधपुछ गरेर हिरासतमा पठाइएको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा लगिएको छ ।
उनले कसको आदेशमा पत्र काटे भन्ने बारेमा अझै खुलेको छैन । उनले आफूभन्दा माथिका कुनै अधिकृतसँग छलफल गरेर पत्र काटेको हो कि हैन भन्ने खुलेको छैन । तर उनको त्यही पत्रले पार्टी एकता भाँडिएको छ भने सर्वोच्च परिसरमा खैलाबैला मच्चिएको छ ।