काठमाडौं ः
प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजित हुँदा नेता रामचन्द्र पौडेल आफूलाई आफैं ‘अभागी’ भन्थे। तर, राजनीतिमा कहिल्यै हार मानेनन्। धैर्य गरे, हारलाई सकारात्मक रूपमा लिए। त्यो राजनीतिक कर्मको फल अहिले पाए। र, त्यहाँभन्दा माथि उठेर बने राष्ट्रपति।
उनी बिहीबार भएको निर्वाचनबाट गणतन्त्र नेपालका चौथो राष्ट्रपति चयन भएका छन्। ७९ वर्षीय कांग्रेस नेता पौडेलको यो ऐतिहासिक राजनीतिक सफलता हो।
पौडेल राजनीतिमा इमान्दार नेतामा चिनिन्छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो। पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३ सय १३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए। प्रदेशतर्फ ५ सय १८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए ।
को हुन् पौडेल ?
२००१ साल असोजमा तनहुँको तत्कालीन रिस्ती गाविसस्थित बाहुन पोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बने। राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोश बोकेर राजनीतिमा होमिएका थिए उनी। बीपी कोइराला २०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरेका थिए।
नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सक्रिय सहभागिता जनाएका थिए। २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापतिमा निर्वाचित भए। ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचित भए। ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य बने। त्यस्तै, ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो। उनी त्यसपछि निरन्तर केन्द्रीय समितिमा रहे ।
राजनीतिमा चर्चा हुन्छ, ‘रामचन्द्रका १४ वर्ष वनबास । ’ पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए। सरकारमा स्थानीय विकासमन्त्री बने। दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषिमन्त्री बने। ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए। ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे।
रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद् सदस्यमा तेस्रोपटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। ०६२ सालमा कांग्रेस महामन्त्री भए। माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक थिए। ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माणमन्त्री भए। ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए। ०६५ सालमा उनी कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। ०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाँचौंपटक निर्वाचित भए। पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन्। उनका श्रीमती र पाँच सन्तान छन्।
उनले दर्जनभन्दा बढी पुस्तक लेखेका छन्– नयाँ सन्दर्भमा समाजवाद, नेपाली कांग्रेसको संक्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा, नेपाली कांग्रेसः अबको प्रजातान्त्रिक समाजवाद, राजनीतिक राजमार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, अभिशप्त इतिहास आदि। उनको महेन्द्रको पञ्चायतकालदेखि ज्ञानेन्द्रको संकटकालसम्मका पटक–पटक जेल जीवनका अनुभूति, निबन्धहरू पनि प्रकाशित छन्। पौडेल कवि पनि हुन्। उनका कविता कृतिहरू पनि प्रकाशित छन्।
विश्वस्तरीय अवार्ड विजेता
पौडेलले जापान सरकारले दिने विश्वस्तरीय अवार्ड प्राप्त गरेका छन्। २०७९ मंसिर २९ गते पौडेललाई जापानी दूतावासले अवार्ड हस्तान्तरण गरेको थियो। तीन वर्ष अगाडि घोषणा गरिएको जापान सरकारको ‘अर्डर अफ द राइजिङ सन’ नामक अवार्ड पौडेललाई दिने घोषणा सन् २०२० अप्रिल २९ मा (२०७७ वैशाख १७) मा भएको थियो।
प्रधानमन्त्रीमा निरन्तर पराजय
करिब ३ दशकसम्म संसदीय चुनावमा जित हात पारे पनि उनी कहिल्यै प्रधानमन्त्री बन्न सकेनन्। ०६७ साल साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिएका थिए। तर, संवैधानिक प्रावधान अनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भयो। आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे। यो चुनावी शृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरियो। अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गयो ।
पौडेललाई १० दलको समर्थन रह्यो। अब उनले राजनीतिक जिम्मेवारी विच्छेद गरी राष्ट्रको समग्र अभिभावक बन्नुपर्ने छ। संविधानको धारा ६१ को उपधारा (२) मा भनिएको छ, ‘राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने छ। निजले यस संविधान र संघीय कानुनबमोजिम कार्य सम्पादन गर्ने छ । ’ सोही धाराको उपधारा (३) मा ‘राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रबद्र्धन गर्नेछ’ र उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने छ’, भनिएको छ ।
‘कस्तो हुनुपर्छ भन्नेमा सचेत रहनेछु’
कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार बन्दा पौडेलले राष्ट्रपति कस्तो हुन्छ ? भन्नेमा आफू सचेत रहने बताएका थिए। बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पनि उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधानको भावनालाई इमान्दारीपूर्वक पालना गर्नेमा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाए।
गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा आफू सचेत रहेकाले सोहीअनुसारको सबैको माया पाएर राष्ट्रपति बन्ने बताए। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो। संविधानको अक्षरशः भावनालाई इमान्दारीपूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु। गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरा म सचेत छु। सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु । ’
पौडेललाई शीर्ष नेताहरूको बधाई
पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बधाई दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतले बधाई दिएका हुन्।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी गरी १० राजनीतिक दलको उनलाई समर्थन थियो ।
कसरी हुन्छ पद हस्तान्तरण
राष्ट्रपति कार्यालयका सचिव प्रवक्ता सागर आचार्य २९ गते पद हस्तान्तरण हुन सक्ने बताउँछन्। ‘नयाँ निर्वाचित राष्ट्रपतिसँग सल्लाह गरेर मिति तय हुन्छ। निर्वाचन आयोगले औपचारिक रूपमा रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विवरणसहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिनुपर्छ। सम्भवतः भोलि पठाउला। अनि, शपथ ग्रहणको कार्यक्रम तय हुन्छ,’ उनले भने ।
२८ फागुनसम्म राष्ट्रपति भण्डारीको पदावधि रहेकाले नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने र निवर्तमान राष्ट्रपतिको बिदाइ हुने आचार्यले बताए। संविधानअनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन्। अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।
पौडेलको आभार
पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि बिहीबार साँझ सम्पूर्णमा आभार व्यक्त गरेका छन्। एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु । ’
वक्तव्यमा लेखिएको छ– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, संघर्ष र अभियानमा ज्यान गुमाउनु भएका सबै सपूत सहिदप्रति श्रद्धासुमन अर्पण गर्दछु ।
मलाई साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरू एवं मतदान गर्नु हुने सबै मतदाताप्रति हृदयतः आभार व्यक्त गर्दछु। मित्रवत प्रतिस्पर्धामा रहनुभएका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्न चाहन्छु। मलाई प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु ।
राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु। निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सम्पूर्ण पक्षमा धन्यवाद व्यक्त गर्दछु। सबै शुभेच्छुक तथा सहयोगी मनप्रति सतत् धन्यवाद व्यक्त गर्दछु ।