May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

१७ वर्ष सम्म बोल्दै नबोली छोरा गुमाउनु पर्यो

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १२:३७
१७ वर्ष सम्म बोल्दै नबोली छोरा गुमाउनु पर्यो

काठमाडौं ।  ज्युँदो सहिदका नाममा विख्यात मुकेशको देहावशान ३२ वर्षको उमेरमा भएको छ । काभ्रेको बनेपामा २०४८ साल भदौ ९ गते जन्मेका मुकेश मिरा कायस्थ र कृष्णमान कायस्थका एक्ला छोरा थिए । उनकी एक बहिनी छिन् ।

राजनीतिक, सामाजिक परिवर्तन र न्यायका लागि चालु राज्य व्यवस्थाविरुद्ध विद्रोह गर्दै बलिदान हुनेलाई सहिद भनिन्छ । यस्तै एक पात्र हुन् – मुकेश कायस्थ । विसं २०६२ चैत्र २७ गते देखि बनेपास्थित घरको ओच्छ्यानमा अर्धचेत अवस्थामा रहेका मुकेश कायस्थले २०८० साल बैशाख २७ गते राति ८ बजे संसारबाट विदा लिए ।

बाचुन्जेल मुकेशमा होस थिएन तर उनको उपस्थितिले आन्दोलनमा होमिएर सहिद भएका सबैको प्रतिनिधि भएर खबरदारी गरिरहे झैँ लाग्थ्यो । ओच्छ्यानमा पल्टिरहेका मुकेशलाई भेट्दा लाग्थ्यो उनले नबोलेर पनि नेताहरुलाई खबरदारी गरिरहेका छन् । आन्दोलनबाटै लोकतन्त्र आयो, जनताको संविधान आयो । तर, संघीय गण्तन्त्र नेपाल जुन बाटोमा हिँड्नुपथ्र्यो हिँडेको छैन ।

गत महिना बनेपामा जनमत प्रतिष्ठानको वार्षिकोत्सवमा मुकेशका बाबु कृष्णमान कायस्थसँग मुकेशको बारे सोध्दा भक्कानिएको स्वरमा भन्दै थिए – छोराको पीरभन्दा पनि धेरै त नेपाल आमाका धेरै छोराहरुको बलिदान खेर जान्छ कि भनेर रुन मन लाग्छ ।

“मुकेश उठ, यी हेर त यो के हो ? बोल त बाबु, तिमी बोल्नुपर्छ । मलाई चिन्यौ ?, ऊ तिम्रो स्कुलको साथी ?” मुकेशकी आमा मीरा कायस्थ उनलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहेकी हुन्थिन् । सत्र वर्ष अनवरत छोराको स्याहार गर्दै आएकी ममतामयी आमा मीरा कायस्थको अनुहारमा म सधैँ उस्तै मुस्कान देख्छु । छोराको सामिप्य र स्याहारमा उनी मग्न हुन्थिन् । कहिल्यै थाकेको गुनासो गरिनन्, कहिले एक्लै छोडिनन् छोरालाई । छोराको समर्पणमा सेवा खन्याइ रहिन् । छायाजस्तै रहेका छोरा साथमा नहुँदा आमा मीराको अवस्था कस्तो भयो होला ? उनले आफुलाई कसरी समाल्छिन् होला ?मृत्यु सत्य भए पनि स्वीकार गर्न त गाह्रो पो हुन्छ ।

नेपालको दोस्रो जनआन्दोलन (२०६२÷२०६३) लोकतन्त्र स्थापनाका लागि भएको शान्तिपूर्ण आन्दोलन थियो । उन्नाईस दिनसम्म चलेको यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो । यस आन्दोलनमा विभिन्न राजनीतिक दलसँगै सशस्त्र विद्रोह गरिरहेको माओवादीसमेत मिसिएको थियो ।

काठमाडौं चर्केको जनआन्दोलनबाट बनेपा अछुतो रहने कुरै थिएन । हरेक दिन सडकमा विभिन्न क्षेत्रका व्यक्तिहरु उत्रन्थे । राजतन्त्र फ्यालेर लोकतन्त्र ल्याउन सबै तम्सेका थिए । बूढाबुढीदेखि १२-१३ वर्षका बालबालिका पनि सडकमा उत्रेको समय थियो । त्यस हुलमा भर्खर स्थानीय विद्यासागर बोर्डिङ स्कुलमा कक्षा ८ को जिल्ला स्तरीय परीक्षा दिएर बसेका मुकेश पनि साथीहरुसँग सडकमा पुगेका थिए ।

विसं २०६२ चैत २७ गते सात दलको आह्वानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट काभ्रेपलाञ्चोक, उग्रचण्डी नालाका भीमसेन दाहालको मृत्यु भइसकेको थियो । भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो । शव लिन नालाबाट धुलिखेल आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो । शिवहरि कुँवर घटनास्थलमै मारिए भने मुकेश घाइते भए । मुकेशसँगै बनेपाकै विक्रम कपालीलाई गोलीको छर्राले लाग्यो । उनलाई भारतमा उपचार गरिएपछि निको भइसकेको छ ।

भीमसेनको पोखरामा हत्या भएपछि उर्लेको भिडले बनेपास्थित दूरसञ्चार कार्यालय, विद्युत् प्राधिकरण र बनेपा नगरपालिकामा तोडफोड गरेको थियो । शिवहरिको मृत्यु भएको थाहा पाएपछि सोही दिन राति अर्थात २०६२ चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपा स्थानीयवासीले आगो लगाएर ध्वस्त बनाइदिए ।

घाइते हुनेबित्तिकै बनेपाकै शीर मेमोरियल अस्पताल लगिएका मुकेशलाई त्यहाँ उपचार हुन नसक्ने बताइएपछि वीर अस्पताल लगियो । उनलाई तत्कालीन इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक रामप्रसाद घर्तीमगरले हानेको गोली लागेको थियो ।

अस्पतालबाट बनेपा ल्याइएको केही दिनपछिदेखि नै उपचारमा दलहरूले ध्यान नदिएको भन्दै स्थानीय युवाले अरनिको राजमार्ग बन्द गराएपछि मुकेशलाई २०६४ फागुन २२ गते काठमाडौंको न्युरो अस्पतालमा लगी उपचार गरिएको थियो। त्यहाँ नियमित छ महिनासम्म उपचार गराएपछि २०६४ भाद्र ७ गते बनेपा फर्काइयो । सरकारले मुकेशका लागि सुरुमा एकमुष्ट साढे नौ लाख रकम दिएको थियो ।

अचेत मुकेशलाई ११ महिना वीर अस्पताल, ५ महिना डा. उपेन्द्र दवकोटाको न्युरो अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचारपछि ५ महिना अनामनगरमा स्पर्श थेरापी पनि गरिएको थियो । सरकारले मुकेशको सबै उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता तथा एक जना नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए । उनको उपचारमा संलग्न डा. उपेन्द्र देवकोटा (हाल दिवंगत )र बसन्त पन्तले पनि उनमा आएको सुधारलाई ‘चमत्कार’ भनेका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।