कालिकोट । कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।
जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते हुनुभएको थियो । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताउनुभयो ।
गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गर्नुभएकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको सोमबारै पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ ।
मृतक सहकारी कक्षा–१० मा पढ्दै हुनुहुन्थ्यो । घटना के ? कसरी ? घटेको हो भन्ने बारेमा बुझ्न प्रहरी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
गोली लागेको भन्ने खबर आएको र आफूहरू त्यसतर्फ जाँदै गरेको कालिकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।