प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: एक पटक सगरमाथा सम्बन्धी आफ्ना प्रखर भनाइ सार्वजनिक गर्दै चर्चा कमाएका छन्। एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा भनेका छन् “माउन्ट एभरेष्ट नाम नक्कली हो। सगरमाथाको अर्को नाम छैन। हामीले सगरमाथा नै भन्नुपर्छ। प्रपर नाउन भनेको अर्को हुँदैन। त्यसैले सगरमाथा इज सगरमाथा।”
उनको यो भनाइसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले ओलीको राष्ट्रवादी भावना प्रशंसा गरिरहँदा, केहीले भने “एभरेष्ट त इन्टरनेशनल नाम हो नि” भन्दै खिसिट्याउरी पनि गरिरहेका छन्।
सगरमाथा विश्वको सर्वोच्च शिखर हो र विश्वभर ‘Mount Everest’ नामले चिनिए पनि प्रधानमन्त्री ओलीको यसमा फरक मत रहदै आइरहेको छ — ओलि निरन्तर हाम्रो भाषा र हाम्रो पहिचान जोगाउन ‘सगरमाथा’ भन्नुपर्छ भन्दै आइरहेका छन् ।
यसअघि पनि प्रधानमन्त्री ओलीले सगरमाथा नेपाली भूमिमा मात्र नभई, नेपाली माटोको शान हो भन्दै दर्जनौं पटक सम्बोधन गरिसकेका छन्। उनले केही अगाडि ठट्यौली पारामा भनेका थिए, “सगरमाथा टेकेपछि मात्र कसैले संसार चढेको ठान्नुपर्छ।”