मेचीनगर, कार्तिक ३० । झापा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार अग्नी खरेलको चुनावी कार्याक्रम स्थलमै ७० बर्षिया बृद्धाको मृत्यु भएको छ । चुनावी प्रचार अभियान अन्तर्गत आज विहान मेचीनगर ८ स्थीत सालघारीमा भएको बृद्धबृद्धा सम्मान कार्यक्रममा सहभागि स्थानीय ७० बर्षिया सितामाया अधिकारीको मृत्यु भएको परिवारले जनाएको छ ।
‘कार्यक्रम शुरु भएको थियो आमा कार्यक्रममा नै हुनुहुन्थ्यो, कुर्सीमा बसिरहनु भएको थियो एक्कासी लड्नु भयो,’ बुहारी शर्मिला अधिकारीले रुँदै भन्नुभयो, ‘तुरुन्त उठाएर काकरभिट्टाको मनिसा मेडिकलमा लगिउँ त्याहाँ हुँदैन भने पछि बिर्तामोडको मनमोहन अस्पताल पुर्याउँ, इसिजी गर्दैगर्दा नै डाक्टरले आमा हुनुहुन्न भन्नुभयो ।’
उच्च रक्तचाप (हाइ व्लड प्रेसर) को नियमित औषधी सेवन गर्ने ७० बर्षिया सितामायालाई सम्मान गर्ने भन्दै आज विहान एमालेका स्थानीय कार्यकर्ताहरुले कार्यक्रमस्थलमा लगेको परिवारका सदस्यले बताउनु भयो । ‘जेष्ठ नागरिकलाई सम्मान गर्छौं भन्दै आज विहान कार्यक्रमस्थलमा लानु भयो, माला पनि उनेर तयार पारिएको थियो तर आमा कार्यक्रमस्थलमै लड्नु भयो केही गर्न नपाई आमा बित्नु भयो,’ बुहारी शर्मिलाले भन्नुभयो ।
कार्यक्रमस्थलको साउण्ड सिस्टममा ठुलो आवाजमा चुनावी गित बजिरहेकै बेला सितामा लडेको स्थानीयले बताएका छन । नियमित प्रेसरको औषधी खाने बृद्धालाई माइकको ठुलो आवाजले मृटुमा नकारात्मक असर गर्न सक्ने र हार्ट एटेक आउन सक्ने चिकित्सकहरुले बताएका छन ।