कुशल गैरे /
खुम्रिएको ढाका टोपी
खिरिएका हात
अनि पाइतालाले
ऊ समाज शृंगार्दै छ-
त्यही समाज उसलाई
लाचारिता भिराउँदै छ।
उसको काँचो जीवन
त्यही आरनमा पिटियो
समाज खलाती फुकिरह्यो
ऊ भुङ्ग्रोमा जलिरह्यो
समाजले उसलाई ठटाउँदा निस्किने स्वर
कथित माथिल्ला जातलाई
‘श्रुतिमधुर’-
सर्वोच्चताको अभिषेक लाग्दथ्यो।
यहाँ जननी उपेक्षित हुन्छिन्
स्रोत अपहेलित
कृषिका उपकरण
श्रृंगार्ने कलाकार
अछुतो कहलिन्छ रे
निम्न अस्तित्व उसको
समाजलाई
पछुतो कहलिन्छ रे!
ऊ त्यही आरनमा गल्यो
रापिएका कोइलासँगै बल्यो
ऊ आगोसँग डराउँदैन
तर उसलाई त्यही आगोले नै निल्यो।