November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

झाँगिदै राजनीतिको जालो, बिरामीलाई महिनौंपछिको पालो

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १५:४३
झाँगिदै राजनीतिको जालो, बिरामीलाई महिनौंपछिको पालो

रोजगारीका लागि मलेसिया उड्न ठिक्क परेका ३६ वर्षीय मुस्तकिम अली साईलाई एक्कासी घाँटीको समस्याले सताउन थाल्यो।

घाँटीमा देखापरेको सानो डल्लो बिस्तारै बढ्दै गयो। दुखाई पनि बढेपछि बर्दिया घर भएका उनी बाँकेको खजुरा क्यान्सर अस्पताल पुगे। केही हप्तामा थाहा भयो उनलाई घाँटीको क्यान्सर भइसकेको रहेछ।

खजुरा अस्पतालका डाक्टरले सुविधासम्पन्न अस्पतालमा उपचार गराउनुपर्छ भनेपछि मुस्तकिम चैत १० गते भरतपुर आइपुगे। ११ गते बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ओपिडीमा पुगेका उनलाई डाक्टरले घाँटीको शल्यक्रिया गर्नुपर्ने बताए।

तर पालो दिए तीन महिना पछाडिको।

‘पीडाले आजै मर्छु कि जस्तो भएको छ तर डाक्टरले  तीन महिना पछाडिको पालो दिए,’ मुस्तकिमले भने, ‘आर्थिक अवस्था कमजोर भएको मान्छे, निजी अस्पताल जान सकिएन। सरकारीमा उपचारका लागि सापट मागेर खर्च जुटाउँदा पनि महिनौं पछि आइज भने।’

तर जब उनको उपचार छिटो गराइदिन दबाब गयो, अस्पताल केही दिनमै शल्यक्रिया गर्न तयार भयो।

‘समस्या धेरैतिर सुनाएको थिएँ, कसैले मेरो पीडा बुझ्यो र अस्पतालमा भनिदियो। अहिले एक–दुई दिनमा अप्रेशन गर्ने भनेका छन्,’ उनले सुनाए।

यो अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम उनको उपचार गराउने नाक, कान, घाँटी विभागकै हुन्।

मुस्तकिम एक प्रतिनिधि पात्र हुन्।

अप्रेशनको पालो महिनौं पछि पर्‍यो भनेर गुनासो गर्ने धेरै मान्छे क्यान्सर अस्पतालको गेट भित्र र बाहिर भेटिन्छन्। आर्थिक अवस्था राम्रो भएकाहरू निजी अस्पताल पुगिहाल्छन्, कमजोर भएकाहरू पीडा खपेर बस्छन्।

क्यान्सर अस्पतालमा सबै रोगको दैनिक ओपिडी सेवा छैन। दैनिक सेवा नभएका ओपिडीमा जाँच गर्न पर्‍यो भने बिरामीलाई सुरुकै दिनबाट पालो कुर्नुपर्छ।

ओपिडी सेवा पाएपछि बिरामीले एमआरआई, सिटी स्क्यानका लागि तीन/चार दिन कुर्नुपर्छ। जबकी यसका लागि अस्पतालले भत्ता दिएर अतिरिक्त सेवा पनि सञ्चालन गरिरहेको छ।

यो सेवा पाएपछि बिरामीले शल्यक्रियाको समय पाउँछन्। यसका लागि ‘सोर्स फोर्स’ ले बढी काम गर्छ।

‘सोर्स फोर्सले चल्यो भने पालो आइहाल्छ, नत्र महिनौं कुर्नुपर्छ,’ नाक, कान, घाँटी विभागकै एक स्वास्थ्यकर्मीले भने, ‘व्यवस्थापन मिलाएर दुई हप्तामा गर्न सकिने शल्यक्रियालाई महिनौं लगाउने गरिएको छ।’

शल्यक्रियापछि मेजर वायोस्पी(मासुको रिपोर्ट)का लागि बिरामी ३ महिनासम्म कुर्न बाध्य छन्। सामान्यतया १ देखि ३ हप्ताभित्रमा आइसक्नुपर्ने रिपोर्टका लागि बिरामीले महिनौं कुर्नुपर्छ। यो अवधिमा अप्रेशन गरेको ठाउँमा पुनः रोग फर्किने र निको नहुने गरेको धेरै घटना देखिए पनि यसलाई छिटो गर्न अस्पतालले कुनै काम नगरेको डा.समिर शर्मा बताउँछन्।

उनले अस्पताल प्रशासन उपचारमा सुधार गर्न नभई आफ्ना मान्छेलाई बढुवा गर्नमा मात्रै ध्यान दिएको आरोप लगाए।

वायोस्पी रिपोर्ट पछि केमो थेरापी र रेडियो थेरापी गर्न बिरामीले फेरि लामो समय कुर्नुपर्छ। रेडियो थेरापीका लागि डेढ महिनासम्म पालो कुर्नुपरेको क्यान्सरका बिरामीहरू बताउँछन्।

अस्पतालका अधिकारीहरू भने सधैं जनशक्ति र उपकरण अभावलाई कारण देखाएर पन्छने गरेका छन्।

झाँगिदै राजनीतिको जालो

उपचारका लागि क्यान्सर अस्पताल आइपुग्ने बिरामीले यो नियती भोग्न थालेको हिजो–आजमात्रै होइन। सुरुआतबाटै अस्पतालको सेवा यही उही स्तरमा छ।

अस्पताल सञ्चालक समिति, कार्यकारी निर्देशक र उपनिर्देशक जस्ता पदमा हुने राजनीतिक नियुक्तिले अस्पताललाई राजनीतिको अखडा बनाएको छ। सञ्चालक समितिको सदस्यमा त राजनीतिक दलका कार्यकर्ताहरू नै खोजेर नियुक्त गरिन्छ।

यसको प्रभाव बुझ्न अस्पतालमा केही दिनयता भइरहेका गतिविधिलाई हेरे पुग्छ।

अस्पतालको पदपूर्ति समितिले राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारीको बढुवा गरेको भन्दै कर्मचारी, स्वास्थ्यकर्मीहरू अहिले कामै छोडेर आन्दोलन गरिरहेका छन्। अध्यक्षले तोकेका कर्मचारी, कार्यकारी निर्देशक र विभागीय प्रमुखले आफ्ना मान्छेलाई बढी नम्बर दिएर बरियतामा अगाडि रहेकालाई बढुवा नगरेको आरोप उनीहरूको छ।

कार्यकारी निर्देशक, अस्पतालका प्रशासकीय अधिकृत(सदस्य सचिव), कानुन अधिकृत, स्वास्थ्य मन्त्रालय र लोकसेवा आयोगका प्रतिनिधि रहेको पदपूर्ति समितिले कर्मचारीको बढुवा गर्ने व्यवस्था छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कर्मचारी प्रशासन नियमावली २०६६ ले कर्मचारी बढुवा गर्न ज्येष्ठता बापत ३०, शैक्षिक योग्यता बापत ३० र कार्यसम्पादन मूल्यांकन बापत ४० अंक तोकेको छ। कार्यसम्पादन मूल्यांकनको ४० अंकमध्ये १५ अंक सुपरिवेक्षक अर्थात विभागीय प्रमुख, १५ अंक पुनरावलोकनकर्ता अर्थात कार्यकारी निर्देशक र १० अंक पुनरावेदन समिति अर्थात सञ्चालक समितिले दिने व्यवस्था नियमावलीमा छ।

उनीहरूले दिने नम्बर नै बढुवामा राजनीतिक चलखेल गर्ने महत्वपूर्ण अस्त्र बनेको छ।

नम्बर दिँदा बरिष्ठतालाई आधार नबनाई राजनीतिक पूर्वाग्रहका आधारमा दिइएको आरोप असन्तुष्ट कर्मचारीले लगाएका छन्।

चैत ५ र ६ गते गरिएको बढुवामा असन्तुष्टहरूले अहिलेको पदपूर्ति समितिलाई त्यो आरोप लगाएपनि यो चलन विगत बाटैको हो। अहिले असन्तुष्टी जनाउने कतिपय यसअघिको पदपूर्ति समितिबाट बढुवा भएकाहरू पनि छन्। त्यतिखेर उनीहरूको बढुवा हुँदा अहिले बढुवा भएकाहरूले असन्तुष्टी पोखेका थिए।

‘आफ्नो पार्टी निकटका डाक्टर कार्यकारी निर्देशक हुँदा पियनमा भर्ना भएकाहरु त्यही कार्यकालमा बढुवा भएर सुब्बा भए। अर्को पार्टीका पियन नै छन्,’ अस्पतालका एक चिकित्सकले सुनाए, ‘कार्यकारी पदमा राजनीतिक नियुक्ति गरेपछि हुने यही हो। सबैको ध्यान आफ्नो दुनो सोझ्याउनेतिरै छ, बिरामीलाई छिटो सेवा कसरी दिने भन्ने सोच्न कसले भ्याउँछ र?’

बढुवाकै लागि कार्यकारी निर्देशक जुन राजनीतिक दलको आउँछन् त्यही दलको सदस्यता लिने पनि यहाँ कम छैनन्। सञ्चालक समिति र कार्यकारी निर्देशकले चाहने हो भने अस्पतालमा धेरै सुधार आउन सक्ने ती चिकित्सकले बताए।

‘समिति र कार्यकारी निर्देशकलाई धेरै अधिकार छ। उनी त अस्पतालमा कसरी अत्याधुनिक उपकरण भित्र्याउने, समयानुकूल उपचार सेवा कसरी दिने भन्नेतिर लाग्नुपथ्र्यो। तर उनीहरु राजनीतिक चलखेलमा रुमालिए। साना–साना विवादमा अल्झिएर बस्दा बिरामीले दुःख पाइरहेका छन्,’ उनले भने।

यसरी गरियो बढुवा

अस्पतालले चैत ५ र ६ गते ११ वटा पदहरूमा बढुवा गरेको छ। धेरैजसो पदमा बढुवाको क्रममा वरिष्ठता मिचिएको भन्दै कर्मचारीले आन्दोलन सुरु गरेका छन्।

तीमध्ये रजिष्ट्रारबाट जुनियर कन्सल्टेन्ट, वरिष्ठ सिस्टरबाट नर्सिङ सुपरभाइजर, वरिष्ठ स्टाफ नर्सबाट सिस्टर, स्टाफ नर्सबाट वरिष्ठ स्टाफ नर्स र वरिष्ठ सहायकबाट अधिकृत पदको बढुवामा बढी विवाद छ। बढुवा गर्दा राजनीतिक पूर्वाग्रह साँधेको आरोप उनीहरूको छ।

रजिष्ट्रारबाट जुनियर कन्सल्टेन्टमा ५ जनालाई बढुवा गरिएको छ। १४ जना रजिष्ट्रारबाट ५ जनालाई बढुवा गर्दा कार्यसम्पादन मूल्यांकनमा बरिष्ठता नहेरिएको आरोप पदपूर्ति समितिलाई छ।

रजिष्ट्रार खुल्ला परीक्षाबाट स्थायी भएका डाक्टरहरूको पद हो। यो पदमा डा.मञ्जु पाण्डेय, डा.सञ्जय पौडेल, डा.हेमनाथ सुवेदी, डा.सुमन खनाल र डा.विवेक कँडेल बढुवा भएका छन्। उनीहरू सबैले खुल्ला परीक्षाबाट उत्तीर्ण भएर नियुक्ति पाएका थिए। उनीहरूभन्दा पहिले करारमा काम गरेका डाक्टरहरूले कार्यसम्पादन मूल्यांकनमा आफू पछि पर्नुको कारण खोज्दै बढुवामा असन्तुष्टी जनाएका छन्।

डा.सुनिल ढकाल र डा.जयराम अधिकारीले अहिले बढुवा भएका डाक्टर भन्दा पहिलेबाट करारमा काम सुरु गरेका थिए। वरिष्ठताका आधारमा ढकाल एक नम्बर र अधिकारी दुई नम्बरमा थिए। तर बढुवामा उनीहरुलाई पन्छाइयो।

‘आफ्ना मान्छेलाई बढुवा गर्न सिनियरलाई कार्यसम्पादन मूल्यांकनमा कम नम्बर दिइयो,’ मेडिकल अंकोलोजी विभागका डा.अधिकारीले सेतोपाटीसँग भने, ‘पदपूर्ति समितिले आफ्नो नाफा–घाटा हेरेर बढुवा गर्दा हामी परेनौं।’

कार्यकारी निर्देशक र पदपूर्ति समितिका सदस्य सचिव रहेका प्रशासकीय अधिकृतलाई कुरा राख्दा बढुवाका लागि नम्बर पुगेन भनेर गैरजिम्मेवार जवाफ दिएको अधिकारीले बताए।

‘उनीहरूको ध्यान स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाउने, बिरामीलाई सहजरुपमा सेवा दिने विषयमा छैन। आफ्नो लागि कसरी फाइदा हुन्छ भन्नेतर्फमात्रै उनीहरुको ध्यान छ,’ अधिकारी भन्छन्, ‘बिरामीले अप्रेशनका लागि महिनौं कुर्नुपरेको, वायोस्पी रिपोर्ट कुर्दा–कुर्दै घाउ बल्झिएको, ज्यानै जाने अवस्थामा पुगेको विषयले उनीहरुलाई कहिल्यै छुँदैन।’

नर्सिङ सुपरभाइजर पदमा एक जना बढुवाका लागि ६ जना वरिष्ठ नर्सहरू लाइनमा थिए। पदपूर्ति समितिले सविता पन्थीलाई बढुवा गर्‍यो। अन्यले कार्यकारी निर्देशक, अध्यक्षले तोकेका कर्मचारी र विभागीय प्रमुखले कार्यसम्पादन मूल्यांकनको नम्बर दिँदा आफूभन्दा कनिष्टलाई धेरै दिएको भन्दै विरोध गरेका छन्। पन्थी अस्पतालका उप–निर्देशक डा.कृष्णसागर शर्माकी श्रीमती हुन्। शर्मा मेडिकल अंकोलोजी विभागका प्रमुख पनि हुन्।

विगतलाई हेर्ने हो भने सातौं तह अर्थात सिस्टर पदमा यी ६ जनाले सँगै नियुक्ति पाएका थिए। आठौं तहमा बढुवा हुँदा कार्यकारी निर्देशकको निकटका वरिष्ठ सिस्टरले बढी नम्बर पाए। अहिले नबौं तहमा बढुवा हुने समयमा कार्यकारी निर्देशक अर्कै पार्टीका छन्। आठौं तहका लागि धेरै नम्बर पाउनेले पार्टी नमिलेकाले अहिले थोरै नम्बर पाए।

पदमा रहेकाले आफ्ना श्रीमती, आफन्तलाई कार्यसम्पादन मूल्यांकनमा धेरै नम्बर दिएर बढुवा गराएको यस पटकमात्रै होइन। विगतका कार्यकारी निर्देशकबाटै यो चल्दै आएको छ।

वरिष्ठ स्टाफ नर्सबाट सिस्टरका लागि २ जना बढुवा भएका छन्। पहिलेको वरिष्ठतामा ३ नम्बरमा रहेकाले सबैभन्दा धेरै, १ नम्बरमा भएकाले थोरै नम्बर पाएर दोश्रो नम्बर बढुवामा परे। वरिष्ठतामा २ नम्बरमा रहेका बढुवामा परेनन्।

३२ जना स्टाफ नर्सबाट १० जना वरिष्ठ स्टाफ नर्समा बढुवा भए। बढुवामा क्रमसः ८, ९, ३२, १३, १८, २२, १, २५, ४ र ६ नम्बरका परेका छन्। पहिले १ नम्बरमा रहेको भन्दा अन्तिम नम्बरमा रहेको वरिष्ठ हुनेगरी पदपूर्ति समितिले बढुवा गरेको छ।

केहीले आफूले बुझाएको कार्यसम्पादन मूल्यांकनको फाइल लुकाएर प्रशासनले आफू अनुकूलका कर्मचारीको बढुवा गरेको आरोप लगाएका छन्।

वरिष्ठ सहायकबाट अधिकृत बन्ने लाइनमा रहेका कृष्णहरी बरालले प्रशासनले कार्यसम्पादन मूल्यांकनको फाइल लुकाएर योग्य कर्मचारीलाई बढुवा हुनबाट बञ्चित गरेको आरोप लगाए। अधिकृत तहमा वरिष्ठ सहायक पदमा बरिष्ठताको आधारमा एक नम्बरमा रहेकी शिला रेग्मी बढुवा भएकी छन्।

अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले पदपूर्ति समितिले सबैले पाएको नम्बर जोडेर जसको बढी नम्बर आयो उसको बढुवा गरेको दाबी गरे। बिगतमा बरिष्ठ भएपनि पछिल्लो कार्यसम्पादन मूल्यांकनमा आएको नम्बरले बरिष्ठता तलमाथि पारेको हुनसक्ने उनले बताए।

कर्मचारी प्रशासन नियमावलीमा बढुवा सिफारिस उपर उजुरी दिन सक्ने व्यवस्था पनि गरेको छ। बढुवा सूचीमा नाम समावेश नभएका उम्मेदवारहरुले चित्त नबुझेर उजुरी दिन चाहेमा नामावली प्रकाशन भएको मितिले पैंतिस दिनभित्रमा पदपूर्ति समितिमा उजुरी दिनसक्ने कार्यविधि नियमावलीमा छ। आफूले बढुवा पाउनुपर्ने स्पष्ट आधार खुलाएर उजुरी दिनसक्ने कार्यविधिमा उल्लेख छ। तर कर्मचारीहरू भने कामै छाडेर आन्दोलन गरिरहेका छन्।

डा.अधिकारीले आफ्नो काम बिरामीको उपचार गर्ने भएकाले कामै छाडेर मुद्दा मामिला गर्न नलाग्ने बताए।

तीन–तीन वर्षमा हुन्छ यस्तै आन्दोलन

एक वर्षअघि पनि अस्पतालले कर्मचारी बढुवा गरेको थियो। त्यतिखेर पनि असन्तुष्ट कर्मचारीबाट सामान्य विरोध भयो। तर यसपाली कर्मचारीहरु बढी नै आक्रोशित देखिन्थे।

यसको कारण अस्पतालमा केही दिनमै हुने नयाँ राजनीतिक नियुक्ति हुनसक्ने आँकलन गरिएको छ। अस्पतालका अध्यक्षको पदावदी सकिएको दुई महिना भयो। सञ्चालक समितिका सदस्यहरुको पदावदी सकिएको पनि एक महिना भयो। कार्यकारी निर्देशक र उप–निर्देशकको तीन बर्षे कार्यकाल सकिन करिब एक महिना बाँकी छ।

नयाँ अध्यक्ष र कार्यकारी निर्देशक बन्नका लागि विभिन्न राजनीतिक दल निकटका डाक्टरहरू दौडधुप गरिरहेका छन्। स्रोतकाअनुसार उनीहरूले स्वास्थ्यमन्त्रीकोसमेत जिम्मेवारी लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेर लबिङ गरिरहेका छन्।

अहिले भइरहेको आन्दोलन अध्यक्ष तथा कार्यकारी निर्देशकका लागि दौडधुप गर्नेहरूकै योजनाअनुसार भएको हुनसक्ने अस्पतालका एक डाक्टरले बताए।

‘कर्मचारीहरुलाई दबाव र प्रभावमा राख्दा आफू जिम्मेवारीमा आउँदा काम गर्न सहज हुने उनीहरुको आँकलन हुन सक्छ। अनि अहिलेका अधिकारीहरूलाई असफल देखाएर आफू पदमा पुग्ने प्रयास गरेको पनि हुनसक्छ,’ उनी भन्छन्।

अस्पतालको अध्यक्षका लागि माओवादी केन्द्र निकट मानिने डा.विजयराज न्यौपाने, नेपाली कांग्रेस निकटका एलएन सिंह, कार्यकारी निर्देशकमा कांग्रेस निकटका पूर्व कार्यकारी निर्देशक डा.विजयराज आचार्य, डा.गुरुनारायण साहको चर्चा छ। कांग्रेस र माओवादीको गठबन्धन सरकार भएकाले अध्यक्ष र कार्यकारी निर्देशक भागबण्डाको तयारी छ। अहिलेका कार्यकारी निर्देशक डा.देजकुमार गौतम नेकपा एमाले निकटका हुन्। तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा उनी नियुक्त भएका थिए। त्यतिखेर स्वास्थ्यमन्त्री सोही पार्टीका भानुभक्त ढकाल थिए।

यसअघि पनि नयाँ राजनीतिक नियुक्तिको समयमा अस्पतालमा यस्तै गतिविधि हुने गरेको थियो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १५:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्