इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–१० जल्पापुरका स्थानीयहरुले सुनसरीको इनरुवा देखी देवानगंज गाउँपालिका सम्म जोड्ने कौवाखोज सडक जाम गरेको छ ।
लामो समयदेखि धुलो खाँदै आएको र स्थानीय,प्रदेश तथा संघीय सरकारले आश्वासन मात्र दिएको कारण स्थानीहरुले आइतबार बाध्य भएर उक्त सडक जाम गरेको हो ।
यस अघि इनरुवा नगरपालिका वडा नं–९ का स्थानीयहरुले उक्त सडक पटकपटक जाम गर्दै आएका थिए ।
सडक जाम भएपश्चात जनप्रतिनिधिहरू गएर आश्वासन दिए तर सडक बनाउन कुनै पहल नगरेको उक्त सडलाई जनप्रतिनिधिहरूले चुनावी एजेण्डाको रुपमा मात्र लिएको स्थानीय बताउँछन् ।
सडक जाम भएपछि जनप्रतिनिधिहरूले सडकमा पानी छर्किन लगाएर गायब हुनेगरेको स्थानीयहरुको गुनासो छ ।
कौवाखोज सडकको अवस्था अहिले यस्तो दयनीय अवस्थामा पुगेको छ कि सो सडक हुँदै ठूला सवारी साधनको त कुरै छौडौं, साइकल, सिटी रिक्सा समेत चलाउन समस्या हुने गरेको सुनिल शर्माले जानकारी दिए ।
धुलोको कारणले मानव जीवनमा असर परिरहको र सम्बन्धित निकाय मौन भएको कारणले पटकपटक सडक जाम गरेर सम्बन्धित निकायलाई घचघच्याउने प्रसाय गरिरहेको शर्माले जानकारी दिए ।
उक्त सडकलाई आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएर ‘आफ्नो कार्यकालमा जसरी पनि पुरा गर्ने’ प्रतिबद्धता गर्दै भोट आएका पूर्व राज्य मन्त्री सिताराम मेहतालाई दुई–दुई पटक यसै क्षेत्रका जनताले निर्वाचित गराएका थिए ।
मेहताले यो कौवाखोज सडक बनाउन त के मर्मत सम्भारमा समेत ध्यान नदिएकै कारणले २०७९ को प्रतिनिधि सभा सदस्य पदमा पराजय भोग्नुपरेको स्थानीय बताउँछन् ।
सिताराम मेहता १० वर्ष सम्म सांसद रहँदा समेत यो सडक अझै बन्न सकेन । मेहता १० बर्ष सम्म सांसद रहँदा बन्न नसकेको सडक बनाउन एमाले नेता भीम प्रसाद आचार्यले पहल गर्छ भन्ने आस गरेका स्थानीय अहिले निरास भाएका छन् ।
मेहतालाई दुई–दुई पटक सांसद बनाएर पठाउँदा नगरेका कामहरू एमाले नेता आचार्यले गर्छ भन्ने आशाका साथ सुनसरी निर्वाचन क्षेत्र नं–२ का जनताले आचार्यलाई जिताएर पठाए । तर आचार्यले पनि उक्त सडकको बारेमा खासै चासो नदेखाएको स्थानीय बताउँन् ।
स्थानीय भन्छन्“ जे का लागि पुरानो फालेर नयाँ ल्यायौं त्यो पुरानो भन्दापनि काम नलाग्ने रैछ ।,‘ चुनाव भन्दा अगाडि ठुल्ठुला सपना देखाएर अनुहार हेराउँन पनि आउँदैन,यो भन्दा राम्रो त मेहता नै थिए काम गर्न नसकेपनि शुःख,दुःखमा आउँथे ।”