पहिले म छायाँनाथ रारा नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालयमा काम गर्थें । पछि राजनीति गरेर मलाई त्यो कार्यालयको जागिरबाट हटाए । त्यसपछि म बहराइन गएँ । झण्डै २७ महिनापछि बहराइनबाट फर्किएको थिएँ । मेरो श्रीमती र छोरा काठमाडौंमा थिए ।
हामी काठमाडौंबाट बाँकेको नेपालगञ्ज आयौं । नेपालगञ्जमा हाम्रो सानो घर थियो । विदेशबाट पठाएको पैसाले श्रीमतीले थोरै जग्गा पनि किनेकी थिइन् । मेरो घर दैलेख हो । तर परिवार नै यतै (बाँके) बस्छन् । पारिवारिक समस्याका कारण मैले बिहे गरेको ८ वर्ष बित्दा पनि श्रीमतीलाई मुगुको घरमा लिएर गएको थिइनँ ।
झण्डै ८ वर्षपछि दशैंको मौका मिलाएर हामी नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको लागि बस चढ्यौं । पहिले प्लेनमा जाने योजना थियो । तर, घरमा लैजानुपर्ने सामान धेरै भएपछि बस चढेका थियौं ।
एकातिर हाम्रो परिवारमा टीका फुकाउनु थियो । अर्कोतिर श्रीमतीले मुगुकै रारा शिक्षा क्याम्पसमा पढाउने र मैले पनि त्यतै केही गर्ने योजना बनाएका थियौं । श्रीमती डिग्रीको पढाइ सकेर बसेकी थिइन् । सोही योजना अनुसार २६ असोज २०७८ को बिहान नेपालगञ्ज बसपार्कबाट मुगुका लागि गाडी चढ्यौं । सुर्खेत, दैलेख हुँदै कालीकोट पुग्दासम्म यात्रा राम्रै भइरहेको थियो ।
चाडबाडको समय भएकाले होला बस यात्रुले भरिभराउ थियो । कतिपय यात्रु मुडामा कोचिएर समेत बसेका थिए । कुनैबेला त बसमा ठेलमठेल हुन्थ्यो । यात्रु चढ्ने, झर्ने भइरहन्थ्यो । गाडी गुडिरहेको थियो । यात्रु पनि गीत सुन्न मग्न थिए । हामीले मुगुको भुलभुलेमा खाना खायौं र अगाडि बढ्यौं ।
बाटोको अवस्था नाजुक थियो । साँघुरो सडक । जम्मै खाल्डाखुल्डी थिए । गाडीमा बजेको गीतको धुनमै यात्रुहरू मस्त थिए । कोही निद्रामा त कोही बाहिरको दृश्य हेरिरहेका थिए । भुलभुलेदेखि निरन्तर अघि बढ्दै बस पिनाटपने खोला पुग्नै लागेको थियो । मोडमा बाटो साँघुरो र चिप्लो थियो । बिस्तारै बस अघि बढ्दै गयो । मोडमा चालकले अप्ठेरो गरी मोड्दै थिए । बस अलि बढी नै हल्लिरहेको थियो । गाडीले सडकको लिक छोड्यो ।
एक्कासी गाडीभित्रै होहल्ला मच्चिन थाल्यो । श्रीमती, छोरा र म एउटै सिटमा थियौं । गाडी पल्टिन थाल्यो । छोरो मेरो काखमा थियो । झ्यालको सिसा खोलेर छोरालाई झाडीमा फालेको याद छ । गाडी गुल्टिंदै गयो । त्यसपछि केही पनि थाहा पाइनँ । पछि थाहा भयो, म अलि माथि नै खसेको रहेछु ।
घाइते भएपछि मसहित ४-५ जनालाई हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएछ । दुई दिनपछि मात्रै होश आयो । श्रीमती र छोरा सकुशल नै छन् भनेर आफन्तहरूले आश्वासन दिए । पछि छोरालाई पनि म भएकै वार्डमा रेफर गरे । श्रीमतीलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको भनियो ।
१३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएँ । श्रीमतीको मृत्यु भइसकेको रहेछ । हामी चढेको गाडीमा दशैं बिदामा घर फर्किएका विद्यार्थी धेरै थिए । झण्डै ५०÷६० जना यात्रु थियौं । भिरालो कच्ची बाटोबाट २०० मिटर तल बस खस्दा २४ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा निधन भएको रहेछ । त्यो दुर्घटनामा मेरो श्रीमतीसहित ३३ जनाको मृत्यु भयो । जिन्दगीमा यस्तो मोड आउला भनेर मैले कल्पना समेत गरेको थिइनँ ।
मैले मेरो श्रीमतीको दाहसंस्कार समेत गर्न पाइनँ । उतै सामूहिक दाहसंस्कार गरेछन् । जिन्दगीभर सँगै मर्ने सँगै बाँच्ने कसम खाएका थियौं । हजारौं सपना सजाएका थियौं । उनको अन्तिम पटक अनुहार समेत हेर्न पाइनँ । छोराले बाबा मम्मी कहिले आउनुहुन्छ भनेर सोध्दा मसँग कुनै जवाफ हुन्थेन । भक्कानिएर रुन्थें ।
त्यो बेला नेपालगञ्जमा हाम्रो सानो घर थियो । मैले विदेशबाट पठाएको पैसाले उनले केही जग्गा किनेकी थिइन् । ठूलो घर हालेर बस्छु भन्थिन् । तिनको त्यो सपना अधुरै रह्यो । दशैंको मुखमा भएको दुर्घटनाले मुगुवासीलाई मात्रै शोकमा डुबाएन, देशै स्तब्ध बन्यो । मलाई त्यो दिन र त्यो घटना सम्झिंदा आफू जिउँदो भएकोमा विश्वास लाग्दैन । त्यो दुर्घटनामा मर्ने अधिकांश युवा थिए । उनीहरू सबैको सपना त्यही भीरबाट हुत्तियो ।
अहिले पनि कर्णाली राजमार्गमा सडक दुर्घटनाकै कारण दिनहुँ दुई÷तीन जनाको ज्यान गइरहेको हुन्छ । तर सरकारले त्यो सडक बनाउनुपर्छ भन्ने कहिल्यै सोचेन । त्यो सडक बनाउने भन्दै भोट मागेका नेताहरू जितेर काठमाडौंमै हराउन थाले । हाम्रो पीडा त कसले नै देख्थ्यो र !
पछिल्लो दुई दशकमा यति धेरै सरकार फेरिए, यति धेरै नेता सत्तामा पुगे । तर, कर्णाली सडकको दर्दनाक अवस्था कहिल्यै देखेनन् । कुर्सीमा बसेपछि नेताहरू आँखा नदेख्ने हुँदा रहेछन् । कुर्सीमा पुग्नुभन्दा पहिला त कर्णालीप्रति धेरैले आँशु झारेको देख्छु । तर, कुर्सीमा पुगेपछि खै के हुन्छ ? ती नेताहरूलाई !
पीडा देख्नेलाई हैन, भोग्नेलाई हुँदोरहेछ । सधैं भगवानसँग एउटै कुरा माग्ने गरेको छु— मेरो जस्तो पीडा कसैलाई नदिनु । मेरो जस्तै अरूको सपना नटुटाइदिनु । मेरो जस्तै कसैको सम्बन्ध नछुटाइदिनु ।