काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका पूर्वउर्जामन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अझै प्रहरीको खोजी सूचीमा छन्।  बुधबार पक्राउ पूर्जी जारी हुँदा अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका उनी काठमाडौँ फर्किएका छैनन्।

उक्त कार्यक्रममा उनीसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि थिए। गत बुधबार राति ९ बजे उनी घिमिरेसँगै भैरहवा विमानस्थलबाट काठमाडौँ फर्कने तयारीमा थिए। त्यहीबेला रायमाझीले प्रहरी उच्च स्रोतलाई टेलिफोन सम्पर्क गरेर कुराकानी  गरेका थिए।

रायमाझीले प्रहरीसँगको कुराकानीमा प्रक्राउ पूर्जीबारे स्पष्ट हुन चाहेको र आफू काठमाडौँ फर्कन लागेको बताएका थिए।  प्रहरीसँग भैरहवा विमानस्थलबाट काठमाडौँ फर्कने तयारी गर्दै छु भनेका रायमाझीले प्लेनको टिकटसमेत रद्ध गरेर मोवाइल अफ गरेर सम्पर्कविहीन भएका हुन्।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा रायमाझीसँग आफूले टेलिफोन कुराकानी गरेको जानकारी बताएका थिए।

रायमाझीले आफुसँग कुरा गर्दा ‘पक्राउ पुर्जीबारे थाहा भएको र त्यस विषयमा थप प्रष्ट हुन प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरसँग कुराकानी गरेको’ ओलीले प्रचण्डलाई बताएका थिए। रायमाझीले आफुविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचारहरू देखेपछि कुँवरसँग यसबारे स्पष्ट हुन खोजेर टेलिफोन गरेको ओलीको भनाइ छ।

कुँवरले ‘आफूलाई पक्राउ पूर्जीबारे थाहा नभएको र सम्बन्धित प्रहरी परिसरमै बुझ्न’ भनेर रायमाझीलाई जवाफ दिएका थिए। रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको र चरित्र हत्या गर्न खोजिएको कुँवरसँगको कुराकानीमा दाबी गरेका थिए।

उनले आफ्नो संलग्नता नभएको र अनुसन्धानमा आफैँ सहयोग गर्न आउँछु भनेपनि शुक्रबारसम्म काठमाडौँ आएका छैनन्। बिहीबार रायमाझीको गाडी लिएर उनको गाडी चालक मात्र आएका छन्।

रायमाझी आफ्नो गाडी छलेर सार्वजनिक बस वा मालबाहक ट्रक चढेर काठमाडौँ आएको आशंकामा प्रहरीले चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएका सवारी साधानमा खानतलासी गरेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गत चैत १२ मा उक्त गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परीसकेका छन्। दुलाल २०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए। उनीहरुको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक यो गिरोहका सदस्यले काटेको पाइएको प्रहरी स्रोत बताउँछ। तर, रायमाझीले महानिरीक्षक कुँवरसँग आफूहरुसँग त्यस्तो कुनै चेक नआएको भन्दै फसाउन खोजिएको भनेर टेलिफोन कुराकानीमा दाबी गरेका थिए।त्यसपछि अनुसन्धानमा सहयोग गर्न आफैँ आउँछु भनेका रायमाझी काठमाडौँ आएनन् । बिहीबार उनको गाडी लिएर चालक मात्र आए।

चालकले रायमाझी भैरहवातिरै बसेको बताएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँ प्रहरीले रायमाझीको खोजी जारी राखिएको बताएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रायमाझीले नक्कली शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गर्ने गिरोहका सदस्यलाई गृह प्रशासनसँग सम्बन्ध बनाइदिन तथा सहजीकरणकाको काम गर्ने गरेको भेटिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन्। बादलका छोरा प्रतिक थापा, इन्द्रजित राईका छोरा निरज लगायतविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ।

बादलका सुरक्षा सल्लाहकार एवम् संविधानसभा सदस्य राईले बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको नाम पनि पोलेका थिए। २०७६ साल जेठमा गृहमन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो।

उक्त कार्यदल बन्दा राई गृह सचिव थिए। उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृह सचिव बनेका हुन्। भुटानी शरणार्थीको समस्या समाधानका लागि कार्यदल गठन हुनुभन्दा अघि नै एजेन्टहरूले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउन थालिसकेका थिए।

उक्त गिरोहले आठ सय भन्दा धेरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएका थिए। एकै परिवारबाट एक करोड ६० लाख रुपैयाँसम्म उठाएका उनिहरुले एक अर्ब ठगी गरेको खुलेको छ। उक्त प्रकरणमा ८१ जनाविरुद्ध किटानी जाहेरी परेको छ।