काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारविरूद्ध बोल्दा सहिद बन्नुपरे पनि आफू तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै उनी कपडा खोलेर अर्धनग्न बनेका थिए । कुराकानी गर्दै उनले संसद् जनताको आवाज उठाउने ठाउँ भएको र भ्रष्टाचारजस्तो जधन्य अपराधमा आफूले बोल्न नपाएपछि कपडा खोलेर विरोध गरेको बताए । संसद्मा बोल्न नपाए आफू सडकमा जाने र भ्रष्टाचारविरूद्ध आवाज बुलन्द पार्ने उनको भनाइ छ ।
“नेताहरू भ्रष्टाचार गर्दै जाने अनि हामीले आवाज उठाउन खोज्दा संसद्मा बोल्न नदिने ? त्यसकारण मैले विरोध गर्न संसद्को गरिमा बुझेरै यसो गरेको हो,” सांसद सिंहले भने, “संसद् जनताको आवाज उठाउनका लागि हो । मैले पनि यहाँ दशक बिताइसकेको छु । करोडकरोड खान मिल्ने अनि हामीले बोल्न नमिल्ने भन्ने हुन्छ ?”
सांसद सिंहले संसद्को गरिमा उल्लंघन गरेबापत कारबाही गरे भोग्न तयार रहेको पनि बताए । “कारबाही भोग्न तयार छु । तर, भ्रष्टाचारविरूद्ध आवाज उठाइरहन्छु । त्यसका लागि ज्यान गए पनि जाओस्,” उनले थपे, “भ्रष्टचारविरोधी एक सहिद थपिने हो, म तयार छु ।”
उनले संसद्मा आवाज उठाउन नपाए आफू सडकमा जाने र जनतामाझ गएर भ्रष्टाचारविरोधी अभियानलाई सशक्त बनाउने बताए । देशभरका जनतालाई यो अभियानमा सडकमा आउन पनि उनले आग्रह गरे ।