काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दैछ । साझा यातायातले पाटनढोका-रत्नपार्क-ज्ञानेश्वर-रातोपुल-गौशाला-चाबहिल-बौद्ध-जोरपाटी-दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो ।
साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना छ ।
‘३ वटा बसका लागि हामीले रुट इजाजत पाएका छौं,’ उनले भने,‘अब क्रमशः बिजुली बसहरुमार्फत सेवा थाल्दैछौं ।’
साझा यातायातले ४० वटा बिजुली ल्याएकोमध्ये ३ वटा यसअघि नै सञ्चालन गरिसकेको थियो । सोमबारदेखि थप ३ वटा बस सञ्चालनमा आउन लागेको हो ।
सोमबार साढे २ बजेदेखि पाटनढोकाबाट बसहरुले सेवा थाल्दैछन् ।