काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको १८ महिनापश्चात् सभापति शेरबहादुर देउवाले विभाग गठन प्रकृयालाई अगाडि बढाएका छन् । देउवाले विधानअनुसार गठन हुनुपर्ने २८ वटा विभाग गठन प्रकृया अघि बढाएका हुन् ।
कांग्रेस स्रोतका अनुसार सभापति देउवाले केन्द्रीय सदस्य मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाउने तयारी गरेका छन् । मीनले पनि आफूले सो कुरा सुनेको जानकारी दिए । यता, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने कुनै तयारी भइनसकेको जानकारी दिए ।
“चिठी दिने र विज्ञप्ति जारी गर्ने मै हुँ । विभाग गठनको विषयमा कुनै तयारी भएको मलाई चाहिँ जानकारी आएको छैन,” उनले भने ।
कांग्रेसमा प्रचार विभाग पार्टी प्रवक्ताको नेतृत्वमा रहने गर्दछ । विभाग संयोजकसहित ५१ सदस्य रहन्छ । अहिले पार्टी प्रवक्तामा अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महत छन् । तर, देउवाले महतलाई भन्दा पनि प्रचार विभाग विश्वकर्मालाई दिने तयारी गरेपछि प्रवक्ता परिवर्तन हुन लागेको हो भन्ने चर्चा कांग्रेसभित्र सुरू भएको छ ।
देउवा विश्वासपात्र समेत रहेका एक केन्द्रीय सदस्यका अनुसार देउवाले विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेका थिए । महत अर्थ मन्त्रालयमा व्यस्त भएको र सञ्चारमाध्यममा पनि पार्टीको प्रचारमा सुस्तता आएको भन्दै देउवाले महतको विकल्पको विषयमा पनि सामान्य छलफल गरेका थिए ।
“उहाँलाई प्रचार विभागको जिम्मेवारी दिनुको अर्थ मिले घोषित र त्यो अवस्था नआए अघोषित भए पनि प्रवक्ताको जिम्मेवारी दिने तयारीको रूपमा बुझ्नुहोस्,” ती केन्द्रीय सदस्यले भने ।
कानुनी पृष्ठभूमिका विश्वकर्माले नेपाल दलित संघको केन्द्रीय अध्यक्ष, दुवै संविधानसभामा सदस्य, ०७४ सालको प्रतिनिधिसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक भएर अनुभव संगालिसकेका छन् ।