झापा । झापाको काँकरभिट्टा स्थित मेची भन्सार नाकामा आज स्थानिय महिला व्यापारीहरुले सशस्त्र प्रहरी विरुद्ध प्रदर्शन गरे । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गर्दा पूर्वी नाकाको स्थिती दिनभर तनावग्रस्त बनेको हो ।
काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, किराना तथा लत्ता कपडा लगायतका बस्तुहरु नेपालमा ल्याउने व्यवसायमा छन् । बर्षौ देखि कम भन्सार तिरेर वा भन्सार नतिरी सानो परिमाणमा उक्त बस्तुहरु नेपाल ल्याउने गरिरहेका उनिहरुलाई सशस्त्र प्रहरीले भन्सार नतिरी र नेपालमा प्रतिवन्धित वस्तुहरु ल्याउन नदिएपछि तनावको अवस्था सृजना भएको थियो । प्रदर्शनमा सशस्त्र प्रहरी र व्यपारी महिलाहरु विच घम्साघम्सी र ठेलाठेल समेत भएको थियो । पहिले पहिले प्रहरीले सामान नेपाल भित्राए वापत नजराना लिनेगरेको कारण उनिहरु निर्वाद भारतबाट सामान नेपालमा ल्याइरहेका थिए । भन्सार मुल्य बढी भएका कारण खरिद मुल्य भन्दा बढी भन्सार तिर्नुपर्ने भएपछि सामानहरु लुकिछिपि र भन्सार छलिगरी लानुपरेको वाध्यता भएको व्यापारीहरू बताउँछन् ।
काँकरभिट्टा बोडर आउटपोष्टबाट खटिएका शसस्त्र प्रहरीको दुइओटा लाठी समेत प्रदर्शनकारीले खोसिदिएका थिए । उनीहरुले सिटी सफारी र अन्य मानिसहरुको आवत जावतमा समेत अवरुद्ध पर्न खोजेका थिए । भन्सारबाट सशस्त्रप्रहरी फिर्ता गर, रुपैयाँ लिएर पनि सामान समात्ने सशस्त्र प्रहरीका घुमुवा प्रहरी राम तामाङलाई कारवाही गर, गरी खान देऊ लगायतको नारावाजी गर्दै महिला व्यापारीहरुले प्रदर्शन गरेका थिए ।