काठमाडौं ।।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन उद्घाटन भएको हो । त्यसयता अहिलेसम्म आन्तरिक उडान मात्र भइरहेका थिए ।